२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

ओलीले बिदा नलिए पार्टी र कम्युनिष्ट आन्दोलन नै सकिन्छ : कर्ण थापा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २२ गते सोमबार

नेकपा एमालेका पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र मार्क्सवाद विपरित केपी ओलीले पार्टी चलाउन खोजेको बताएका छन् । सोमबार नेता ईश्वर पोखरेलको समूहले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले व्यक्तिगत चाहनामा ओलीले एमालेलाई अघि बढाएको आरोप लगाए ।

उनले भने, ‘केन्द्रीय कमिटी बैठकमा उहाँ उभिने, भाषण गर्ने, भाषण जति मन लाग्छ त्यति गर्ने । जे मन लाग्छ भन्ने । उहाँले भनेको कुरा माक्र्सवाद, उहाँले भनेको कुरा जबज, उहाँले भनेको कुरा पार्टी र उहाँले भनेको कुरा निर्णय, ‘जो जनताको बहुदलीय जनवाद र माक्र्सवादसँग मेल खाँदैन । जे स्थापित गर्यौ उहाँले त्यो तोड्दै जानुभयो ।’

उनले १० औँ राष्ट्रिय महाधिवेशनपछि अहिलेसम्म एउटा मात्र स्थायी कमिटी बैठक बसेको भन्दै बैठकका नाममा माइन्युटमा तीन वटा राखिए पनि कुनै पनि बैठकमा छलफल नभएको बताए । जबाफदेहिताको प्रणाली समाप्त गरेको आरोप समेत लगाउँदै उनले अन्य पार्टीबाट ल्याएका मानिसलाई पद दिएको बताए ।

‘जबाफदेहिताको प्रणालीलाई उहाँले समाप्त गरिदिनुभयो,’ पोलिटब्युरो सदस्य थापाले भने, ‘अघिल्लो एउटा निर्णय गर्ने पछिल्लो पटक अर्को निर्णय’, दृष्टान्त पेस गर्दै थापाले प्रदेश अध्यक्षलाई विधानमा केन्द्रीय कमिटीको पदेन सदस्य बनाउने भए पनि पछि पोलिटब्युरो सरह बनाइएको बताए ।

प्रदेशहरूमा विवाद बढ्नुमा विधानभन्दा बाहिर गएर निर्णय गरेकाले भन्दै उनले दुई कार्यकाल, ७० वर्षे उमेर हद लगायतमा मनपरी निर्णय गरेको बताए । नेता थापाले अब ओलीको नेतृत्वमा एमाले चल्न नसक्ने भन्दै उनको व्यक्तिगत चाहनामा एमाले अघि बढे एमाले पार्टी र नेपाली कम्युनिस्ट आन्दोलन नै समाप्त हुने दाबी गरे ।

प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार