२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

गोवाको नाइट क्लबमा आगलागी, चार नेपालीको मृत्यु (नामसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २२ गते सोमबार

भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा चार नेपालीको मृत्यु भएको छ । आगलागीमा परी २५ जनाको मृत्यु भएको थियो । मृत्यु हुने मध्ये चार नेपाली रहेको हिन्दुस्तान टाइम्सले लेखेको छ । उनीहरु क्लबमा कर्मचारी थिए ।

आगलागीमा परी ६ जना घाइते भएका छन् । गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख भए अनुसार मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप रहेका छन् । उनीहरु नेपालका भनिए पनि ठेगाना खुलेको छैन । गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ ।

शनिबार मध्यराति नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी सुरु भएको थियो । साँघुरा बाटोका कारण दमकल पुग्न नसक्दा आगो भयावह भएको थियो । नाइट क्लबमा धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिएर ज्यान गुमाएको भारतीय अधिकारीले जनाएका छन् ।

घटना सम्बन्धी प्रारम्भिक अनुसन्धानले क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ । गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

नियमविपरीत नाइट क्बल सन्चालन अनुमति दिएको आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारी पनि निलम्बनमा परेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार क्लब अत्यधिक भीडिएको थियो र आगो सुरु भएको केही मिनेटमै पूरा संरचना जलेर नष्ट भएको थियो । आगोमा परेर ग्याँस सिलिण्डर पनि विष्फोट भएपछि भयावह भएको थियो ।

गोवा आगलागीमा मृत्यु भएका व्यक्तिहरूको सूची

चुर्णबहादुर पुन — नेपाल
विवेक कटवाल — नेपाल
सबिन — नेपाल
सुदीप — नेपाल
मोहित — झारखण्ड
प्रदीप महतो — झारखण्ड
बिनोद महतो — झारखण्ड
सतीश सिंह — उत्तराखण्ड
सुरेन्द्र सिंह — उत्तराखण्ड
जितेन्द्र सिंह — उत्तराखण्ड
सुमित नेगी — उत्तराखण्ड
मनिश सिंह — उत्तराखण्ड
दिगम्बर पटिर — असम
राहुल तन्ती — असम
मनोजित माल — असम
सुनील कुमार — उत्तर प्रदेश
रोहन सिंह — उत्तर प्रदेश
डोमिनिक — महाराष्ट्र
मनोज जोरा — महाराष्ट्र
इसहाक — कर्नाटक
सुभास क्षेत्री — दार्जिलिङ, पश्चिम बंगाल
सरोज जोशी — दिल्ली
विनोद कुमार — दिल्ली
अनिता जोशी — दिल्ली
कमला जोशी — दिल्ली

प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार