२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २२ गते सोमबार

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने भएको छ । उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो । सडकखण्डमा आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी गरिएको छ ।

बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म सडक पूर्ण रूपमा बन्द गरेर निर्माण कार्य अघि बढाइने नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डले जनाएको छ । धादिङको गल्छी–गजुरी खण्डअन्तर्गत पर्ने जोखिमपूर्ण पोखरेभिर क्षेत्रमा चट्टान काटेर सडक चौडा बनाउनुपर्ने भएकाले सवारी रोकेर काम गर्न लागिएको हो ।

त्यस्तै, नागढुंगादेखि पिप्लामोडसम्मको खण्ड कालोपत्रे गर्न सवारीसाधन रोकेर काम गर्न लागिएको आयोजनाले जनाएको छ । उक्त समय अवधिभित्र वैकल्पिक सडकमार्गहरूको प्रयोग गर्न यात्रु र चालकलाई आयोजना कार्यालयले अनुरोध पनि गरेको छ ।

काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेक पोस्ट, मुग्लिनबाट काठमाडौं आउने सवारीसाधन खानीखोला, नौबिसे र जंगेखोला, थाक्रेमा रोक्ने गरी ठाउँ तोकिएको छ । नौबिसेबाट मुग्लिनतर्फ जाने सवारीसाधन गल्छी, बैरेनी र मासटारमा रोकिने छ । मुग्लिनबाट नौबिसेतर्फ आउने सवारी साधनलाई मलेखुमा रोकिने योजना कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार