२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

परिवारका तीन जना एकैपटक शाखा अधिकृत

सत्यपाटीसत्यपाटी । सोलुखुम्बु । २०८२ मंसिर २२ गते सोमबार

कुनै ट्युसन सेन्टर धाएनौँ । धैरेले घरको मात्र तयारीले त शाखा अधिकृत पास गर्ने कुरा त्यतिकै हो भनेर खिस्याए पनि । हामीले अरूका कुरा सुन्यौँ तर आफ्नो अठोटबाट कहिल्यै पछि हटेनौँ र आफ्नो लगातारको मेहनतलाई जारी राख्यौँ यही दृढ अठोटले अहिले हामी यो सफलता चुम्न सफल भयौँ । हालै लोक सेवा आयोगको एउटै विज्ञापनबाट शाखा अधिकृतमा सिफारिस भएका एकै परिवारका तीन जनामध्येका अग्रज एकराज कुलुङको भनाइ हो यो ।

‘मेहनतको फल मिठो हुन्छ’ भने झैँ अहिले सोलुखुम्बु जिल्लाको दुर्गम महाकुलुङ गाउँपालिका–३ का दुर्गाबहादुर कुलुङ र मनिकुमारी कुलुङका जेठा छोरा एकराज कुलुङ, जेठी बुहारी मनीषा कुलुङ राई र कान्छा छोरा बालकुमार कुलुङ टोल समाजमा मात्र होइन, निजामती वृत्तसँगै सबैतिर चर्चाको शिखरमा छन् । कुनै समय सोलुखुम्बुको कर्णालीका रूपमा चिनिने तत्कालीन छेस्काम र हालको महाकुलुङ गापाको वडा नं ३ का वडाध्यक्षसमेत रहेका दुर्गाबहादुर कुलुङ आफ्ना छोराबुहारीको सफलताले दङ्ग परेका छन् ।

उनका चारै जना सन्तान सबै निजामती सेवामा छन् । ऐतिहासिक सफलता प्राप्त गर्ने तिनै जना केही समयअघिदेखि निजामती सेवामै छन् । राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा)को पदमा विभिन्न कार्यालयमा कार्यरत उनीहरू यसपटक एकैपटक राजपत्राङ्कित तृतीय श्रेणीमा सिफारिस भएका हुन् । एकराज र बालकुमार महालेखा परीक्षकको कार्यालयमा र मनीषा राष्ट्रिय किताबखाना (निजामती)मा कार्यरत छन् । एकराज र मनीषा श्रीमान् श्रीमती हुन् ।

छोराबुहारीले एकै पटक शाखा अधिकृतमा नाम निकाल्दा हर्षित हुँदै बुवा दुर्गाबहादुर कुलुङले भने, ‘आफ्ना सन्तानले गरेको प्रगतिले खुसी नहुने त कुरै भएन, विद्यालय तहदेखि आफूले गरेको मार्गनिर्देशन र पछिल्लो समय उनीहरूले गरेको मेहनतले गाउँ तथा जिल्लाकै गौरव बढाएकोमा गर्व लागेको छ ।’ अझै माथिल्लो तहमा पुगेको हेर्ने इच्छा रहेको उनले बताए । नेपालको सरकारी जागिरको कमाइ थोरै भए पनि आफ्नै देशमा सेवा गर्ने अवसर पाउनु ठुलो कुरा भएको उनको भनाइ छ ।

शाखा अधिकृतमा सिफारिस भएका जेठा छोरा एकराज कुलुङले भने, ‘निरन्तरको मेहनत, छलफल तथा परीक्षाकेन्द्रित अन्तरक्रियाका कारण सफलता हात परेको छ ।’ कुनै ट्युसन सेन्टरमा नपढी तिनै जना एकै ठाउँमा बसेर घरमै गरेको तयारीले परीक्षामा सफल भएको उनले बताए । उनले सफलताको श्रेय बुवाआमाको सानैदेखिको असल मार्गदर्शन तथा आफन्तको उत्प्रेरणा भएको उनको भनाइ छ ।

‘लोक सेवा आयोगमार्फत निजामतीमा प्रवेश गरेपछि अधिकृत हुने सबैको सपना हुन्छ, त्यो सपना पूरा हुँदा हर्षको त सीमा नै छैन केही भावुक पनि भएको छु,’ कान्छा छोरा बालकुमारले भने । दूरदराजमा जन्मिए पनि मेहनत गरे लोक सेवा आयोग पास गर्न सकिन्छ भन्ने अठोट लिएर सरकारी सेवामा प्रवेश गरेको स्मरण गर्दै उनले लोक सेवा आयोगको जाँच निष्पक्ष हुने भएकाले लगातार मेहनत गरे सबै वर्ग समुदायले सफलता हात पार्न सक्ने उनको भनाइ छ ।

युवाको रोजाइ विदेश बनिरहेका बेला सरकारी सेवा नै रोज्नुभयो नि भन्ने जिज्ञासामा उनले विदेशमा पैसा धेरै भए पनि सरकारी सेवामा स्थायित्व हुने र आफ्नै मुलुकको सेवा गर्न मन लाग्ने भएर लोक सेवा रोजेको उनले बताए । जेठी बुहारी मनीषा कुलुङले परिवारसँग जोडिएर सफलता हात पर्दा धेरै खुसी भएको भन्दै आफ्नो सपना पूरा भएको बताइन् । एकै घरका तीन सदस्य एकै पटक सिफारिस हुँदा परिवार तथा स्थानीय खुसी भएका छन् ।

यसले जिल्लामै चर्चा भइरहेको छ र यस उपलब्धिले गाउँकै सम्मान बढाएको बताएका छन् । गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले पछिल्लो समय धेरै पैसा कमाउनका लागि भन्दै वैदेशिक रोजगारमा युवा गइरहेको अवस्थामा परिवारका सबै सदस्य देशकै सेवा गर्न सरकारी सेवामा अधिकृत हुनु गाउँपालिका मात्र नभएर जिल्लाकै गौरवको कुरा भएको बताए ।

भोजपुर र सङ्खुवासभाको सिमानामा रहेको छेस्कामबाट केही वर्ष पहिलासम्म सरकारी सेवामा सहभागिता शून्य जस्तै रहेकोमा पछिल्लो समय दर्जनौँ युवाले सरकारी सेवामा प्रवेश गरेका छन् । पछिल्लो समयमा सञ्चालन हुने लोक सेवा तथा शिक्षक सेवा आयोगका परीक्षामा त्यस क्षेत्रबाट जिल्लाकै सबैभन्दा बढी उत्तीर्ण हुन थालेका छन् । यसलाई त्यस क्षेत्रको शैक्षिक विकासको गतिलो उदाहरणका रूपमा लिन सकिन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार