२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

एनपीएल : पहिलो सिजनमा ‘फस्ट’ जनकपुर दोस्रोमा ‘लास्ट’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २१ गते आइतबार

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो सिजनको विजेता जनकपुर यस सिजन अंक तालिकाको पुच्छारमा पुगेको छ । पहिलो सिजनमा ‘फस्ट’ भएको जनकपुर यस सिजन भने ‘लास्ट’ हुन पुग्यो ।

दोस्रो सिजनमा जनकपुर मात्र एक खेल जितेर अन्तिम स्थानमा सीमित भएको हो। आइतबार भएको लिग चरणको अन्तिम खेलमा जनकपुर कर्णाली याक्ससँग तीन रनले पराजित भयो । यस जितसँगै कर्णालीले छैटौँ स्थानमा रहँदै दोस्रो सिजनको एनपीएल यात्रा सम्पन्न गर्यो ।

कर्णाली र चितवन राइनोजको समान चार अंक भए पनि कर्णाली नेट रनरेटमा अघि रहँदै छैटौँ स्थानमा उक्लियो, भने चितवन सातौँ स्थानमा झरेको छ । जनकपुरले यस सिजन लिग चरणको सात खेलमध्ये केवल एक खेलमा मात्र जित हासिल गरेको छ । बाँकी ६ खेलमा हार व्यहोर्नु परेको छ ।

लिग चरणमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हराएर आफ्नो पहिलो जीत दर्ता गरेको थियो । पहिलो खेलमा जनकपुर काठमाडौँ गोर्खाजसँग पाँच विकेटले, दोस्रो खेलमा विराटनगर किंग्ससँग नौ रनले, तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको थियो। चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार व्यहोर्नु परेको थियो ।

पाँचौँ खेलमा जनकपुरले बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई ६ विकेटले हराएर प्रतियोगितामा पहिलो जित निकालेको थियो । छैटौँ खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएको जनकपुर अन्तिम खेलमा कर्णाली याक्ससँग तीन रनले हार्यो ।

कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले सात विकेट गुमाएर मात्र १२६ रन बनाउन सक्यो । लिगको पहिलो क्वालिफायर मंगलबार हुनेछ, जसमा शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किंग्स भिड्ने छन् । यो खेल भोलि अपराह्न ४ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २०८२ मंसिर २१ गते आइतबार