भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा साढे १३ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशद्धय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थुनामा पठाउने आदेश दिएको हो । त्यस्तै, सोही मुद्दाका अर्का प्रतिवादी तत्कालीन निर्देशक मुरारी भण्डारीलाई पाँच लाख धरौटीमा छोड्ने आदेश भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार महानिर्देशक अधिकारीसहित सात जनाविरुद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दामा छ जना व्यक्ति र एक परामर्शदाता कम्पनीलाई प्रतिवादी बनाइएको छ ।
साढे १७ करोड लागत अनुमान गरिएको उक्त हेलिपोर्ट हालसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ किलोमिटर पूर्वमा रहेको यो हेलिपोर्ट गत असार ७ गते (२०८१) देखि सीमित रूपमा व्यावसायिक सञ्चालनमा ल्याइएको भए पनि सुरक्षित र उपयुक्त नभएको ठहर गरिएको छ ।
अख्तियारको अनुसन्धानबाट हेलिपोर्ट सञ्चालन योग्य नभएको, असुरक्षित स्थानमा निर्माण गरिएको, लाभ–लागत विश्लेषणबिना अत्यधिक रकम खर्च गरिएको, कानुनको पालना नगरी बदनियतपूर्ण ढंगले आयोजना अघि बढाइएको र प्रक्रियागत त्रुटि भएको पुष्टि भएको जनाइएको छ। परिणामस्वरूप सार्वजनिक सम्पत्तिको ठूलो हानि–नोक्सानी भएको अख्तियारको निष्कर्ष छ ।
सत्यपाटी