भारतीय पर्यटकलाई बढीभन्दा बढी संख्यामा नेपाल भित्र्याउने उद्देश्यका साथ नेपालगन्जमा ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना हुनेछ ।
आगामी पुस ४, ५ र ६ गते अर्थात् डिसेम्भर १९, २० र २१ तारिखमा नेपालगन्जमा ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ आयोजना गरिने नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले बताए । उनले बाँकेसहित पश्चिम क्षेत्रको पर्यटनलाई चलायमान बनाउन ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिश्वास गरिएको बताए ।
अध्यक्ष रेग्मीले भने, ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ यस क्षेत्रको समग्र पर्यटन ब्यवसायीको साझा कार्यक्रम हो, पश्चिम नेपालको पर्यटकीय गतिविधिलाई चलायमान बनाउन नाट्टाले यो कार्यक्रमलाई महत्वका साथ गरिरहेको छ ।’ ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’मा दुबै देशको पर्यटन ब्यवसायको अनुभव आदानप्रदान हुने नाट्टा बाँके च्याप्टरका अध्यक्ष रेग्मीले बताए ।
उनका अनुसार पर्यटकलाई भित्र्याउँदा दुई देशको सिमाक्षेत्रमा आउने गरेका समस्यालाई समाधान गर्न नीति, निर्माताबीच पनि बृहत रुपमा छलफल हुनेछ । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सरकारले नै भारतीय पर्यटकलाई बढीभन्दा बढी संख्यामा नेपाल आउने वातावरण बनाउनुपर्ने माग गर्दै त्यसो हुन सकेमा नेपालको पर्यटन व्यवसायले ठुलो फड्को मार्ने दावी गरे ।
हान बाँके अध्यक्ष दिवाकर खनालले नेपालगन्जलाई ट्रान्जिट प्वाइन्टका लागि मात्र नभएर पर्यटकीय हब तथा गन्तब्यको रुपमा चिनाउन भारतीय पर्यटन ब्यवसायी र सरोकारवालाबीच हुने ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ कार्यक्रम उपयोगी हुने बताए । नाट्टा बाँके च्याप्टरका अनुसार पुस ४ गते बेलुका नेपाल र भारत दुबै देशको पर्यटन साझेदार, सरोकारवाला सरकारी निकायलाई यहाँ स्वागत गरिनेछ ।
पुस ५ गते बिहान पहिलो सत्रमा ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ गरिने र दोस्रो सत्रमा ‘बि टु बि’ गरिनेछ । सो दिन बेलुका नेपाली साँस्कृतिक कार्यक्रम अवलोकन गराउने र पुस ६ गते पाहुनालाई बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउने कार्यक्रम रहेको नाट्टा बाँके च्याप्टरका पदाधिकारीको भनाइ छ ।
सत्यपाटी