आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्लाएक्लै निर्वाचनमा जाने भएका छन् । १२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएकोमध्ये १०२ वटा दलहरूले एक्लाएक्लै निर्वाचनमा जाने गरि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
१२ वटा राजनीतिक दलहरूले भने संयुक्त रुपमा एकल चिन्ह प्रयोग गरी निर्वाचनमा जानेगरि आयोगमा निवेदन दिएको उहाँले बताए । उनका अनुसार १२ वटा राजनीतिक दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिन्ह प्रयोग गरी निर्वाचनमा भाग लिनेछन् । एकल चुनाव चिन्ह र संयुक्त चुनाव चिन्ह प्रयोग गरी ११४ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।
उनकाअनुसार प्रतिनिधि सभा निर्वाचनमा ११४ वटा दल १०७ वटा चिन्हमार्फत निर्वाचनमा सहभागी हुनेछन् । आयोगले राजनीतिक दलहरूको निवेदन स्वीकृत गरिसकेको छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने आइतवारबाट शुरु गरेको छ ।
समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंगलवारसम्म निवेदन दिन सक्नेछन् । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिनेछ भने आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने समय तोकिएको छ । बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला हुनुपर्ने आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ । समावेशी समाजवादी पार्टीको अध्यक्ष नुमा लिम्बूले निर्वाचनका लागि आफ्नो पार्टीले प्रदेश, जिल्ला, स्थानीय, वडाहरू सबैतिर संरचना विस्तार गरेर तयार गरिरहेको जानकारी दिइन् । लैंगिक तथा अल्पसंख्यक समुदाय, आदिवासी, जनजाती, मनोरञ्जन क्षेत्रका सबैलाई सहभागी गराएर निर्वाचनको तयारी गरिरहेको उनले बताइन् ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने माग आफूहरूको रहेको बताए । युवाहरूलाई देशमा रोजगारी दिनुपर्ने, नेपालीको सम्पत्तिको सीमाङ्कन हुनुपर्ने, विदेशमा सम्पत्ति राख्न नपाउने, उत्पादनका मुख्यमुख्य साधन र सेवा सामाजिकीकरण गर्नुपर्ने माग राखे । असमान सन्धि,सम्झौता खारेज हुनुपर्ने माग गरे । समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिने प्रक्रियाका लागी राजनीतिक दलहरू निर्वाचन आयोगमा जाने क्रम बढेको छ ।
सत्यपाटी