अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा व्यापक अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच पूर्वमन्त्रीसहित ५५ जना व्यक्तिहरू र एक कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार विमानस्थल निर्माण प्रक्रियाअघि–पछाडि भएको अनुसन्धानले करिब आठ अर्ब ३६ करोड रुपैयाँको भ्रष्टाचार भएको देखिएको छ । यही आधारमा आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेका हो । अख्तियारले तत्कालीन मन्त्रीहरू डा.रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ भने १० जना तत्कालीन सचिवहरुलाई पनि विपक्षी बनाइएको छ ।

आयोगले लामो समयदेखि चलेको अध्ययन र प्रमाण संकलनपछि ठूला राजनीतिक पदाधिकारीदेखि प्राविधिक तहका व्यक्तिहरूलाई समेत अभियुक्त बनाउने निर्णय गरेको हो । संसदीय छानविन समितिको सिफारिस अनुसार छानविन सकाएर नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक दीपक अधिकारीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । विमानस्थल निर्माणमा ठेक्का सम्झौतादेखि नै अनियमितता र भ्रष्टाचार भएको संसदीय छानविन समितिको निष्कर्ष रहेको छ ।
संसदीय छानविन समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १० अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै कारबाहीका लागि अख्तियारलाई सिफारिस गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का प्रक्रियाकै क्रममा आठ अर्ब लागत बढाएर भ्रष्टाचार गरेको, सम्झौता विपरीत अतिरिक्त भुक्तानी दिएको, रनवे निर्माणमा हिनामिना गरेको, सम्झौता विपरीत दुई अर्बभन्दा बढी कर छुट दिएको, परामर्श सेवा र इन्धन भण्डारण लगायतमा हिनामिना गरेको आरोप रहेको छ ।
सत्यपाटी