गृह जिल्ला रुकुम पश्चिम आएको बेला प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा विरुद्ध नाराबाजी र कालो झन्डा देखाएर विरोध गरिएको छ । पूर्वमन्त्री एवम् साविक माओवादी केन्द्रका उपमहासचिव रहेका रहेका नेता शर्मा आइतबार बिहान रुकुम पश्चिम आउँदा विरोध गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान मुसीकोट नगरपालिका–१, सल्लेमा कालो झन्डा देखाउँदै शर्माविरुद्ध नाराबाजी गरेका हुन् । काठमाडौँबाट सल्ले विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजमार्फत आएका शर्मालाई एयरपोर्ट बाहिर कालो झन्डा देखाएर विरोध गरिएको हो ।
साबिक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अगुवाईमा नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेर अन्य वाम घटक दलहरूसँग एकता गरेपछि सो प्रक्रियामा असहमति जनाउँदै शर्माकै अगुवाई प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको छ । नयाँ पार्टी गठनपछि पहिलो पटक गृह जिल्ला आएको बेला उनीविरुद्ध नाराबाजी भएको हो ।
नेपाली कम्युनिस्ट पार्टी निकट एक दर्जन बढी कार्यकर्ताहरूले कालो झन्डा देखाउँदै जनार्दन शर्मा मुर्दावाद, जनतालाई धोका दिने जनार्दन मुर्दावाद, नेपाली कम्युनिस्ट पार्टी जिन्दावाद, दक्षिणपन्थी अवसरवादी मुर्दावाद लगायतका नारा लगाएका छन् । गृह जिल्लामा पार्टीको कार्यालय उद्घाटन, युवा भेलालाई सम्बोधन लगायतका कार्यक्रममा सहभागी हुन शर्मा आएका बताइएको छ ।
सत्यपाटी