२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ मंसिर २१ गते आइतबार

बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै गएपछि बर्सेनि उत्पादन घट्दो क्रममा छ । तेलहन बाली अन्तरगत जसोतसो तोरीखेती गरे पनि अन्य खेतीको क्षेत्रफल घट्दै जाँदा त्यसको प्रत्यक्ष असर उत्पादनमा पर्दै गएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष पाठकले बताए ।

उनका अनुसार गत आर्थिक वर्ष २०८१–०८२ मा बाँकेमा छ हजार ५३० हेक्टर क्षेत्रफलमा गरिएको तोरीखेतीबाट पाँच हजार ६४८ मेट्रिक टन उत्पादन भएको थियो । यो उत्पादन अघिल्लो आवको तुलनामा १४ दशमलव ४१ प्रतिशत कमी हो । बाँकेमा तेलहन बाली कुल सात हजार २५६ हेक्टरमा हुँदै आएको छ ।

तोरीबाहेक सर्स्यौं, रायो, सूर्यमुखी, तिल, बदाम र आलसखेती गरिने भए पनि क्षेत्रफल र उत्पादन अत्यन्त न्यून छ । किसानले खेती गर्ने क्षेत्रफल घट्दै गएर हाल सर्स्यौं ३५ हेक्टर, रायो १५ हेक्टर, सूर्यमुखी एक हेक्टर, तिल १५ हेक्टर, बदाम ६१५ हेक्टर र आलस ४५ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको सूचना अधिकारी पाठकले जानकारी दिए ।

उनले हिउँदे वर्षा नहुनु र बीउ प्रतिस्थापन दर न्यून हुँदा तोरीखेतीको उत्पादन घट्दै गएको उल्लेख गर्दै किसान तोरीबाहेक अन्य तेलहन बालीतर्फ आकर्षित हुन नसकेको बताए । नेपालगन्ज–२२ का अगुवा किसान चक्र बुढाले उत्पादनको यो निरन्तर गिरावटलाई रोक्न किसानलाई बढी उत्पादन दिने र तेलको मात्रा राम्रो हुने उन्नत जातका बीउ उपलब्ध गराउनु, सिँचाइको व्यवस्थापनमा सुधार ल्याउनु र अन्य तेलहन बालीको महत्वबारे सचेत गराउनु आवश्यक रहेको बताए ।

तेलहन बालीको उत्पादनमा आएको यो गिरावटले गर्दा तेलको आयातमा निर्भरता बढ्ने र स्थानीय बजारमा तेलको मूल्यमा असर पर्ने भएकाले बाँकेमा तेलहन बालीको खेतीलाई प्रोत्साहन गर्न स्थानीय र प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र किसानलाई आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ मंसिर २१ गते आइतबार