खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग हालसम्म साढे सात हजार क्वीन्टलभन्दा बढी धान खरिद गरेको छ । कात्तिक २३ देखि सुरु गरिएको धान खरिद अभियान अन्तरगत मङ्सिर १४ सम्म सात हजार ५०३ क्वीन्टल धान खरिद भएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख रामशरण लामिछानेका अनुसार खरिद भएको धानमध्ये मोटा धान दुई हजार ५०४ क्वीन्टल तथा मध्यम धान पाँच हजार क्वीन्टल छ । सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्य अनुसार प्रतिक्वीन्टल मोटा धान तीन हजार ४६४ रुपैयाँ र मध्यम धान तीन हजार ६२८ रुपैयाँको दरमा खरिद गरिएको हो ।
यसरी जम्मा दुई करोड ६८ लाख १२ हजार २०९ रुपैयाँ बराबरको धान खरिद गरिएको लामिछानेले बताए । यस वर्ष नेपालगन्ज कार्यालयलाई २० हजार क्वीन्टल धान खरिद गर्ने कोटा छुट्याइएको छ, जसमा १५ हजार क्वीन्टल मोटा धान र पाँच हजार क्वीन्टल मध्यम धान समावेश छ ।
प्रमुख लामिछानेका अनुसार मध्यम धानको कोटा पूरा भइसकेकाले अब मध्यम धान खरिद बन्द गरिएको छ । हाल मोटा धान खरिद भइरहेकाले १५ हजार क्वीन्टल पुग्नेबित्तिकै खरिद कार्य बन्द गरिने जनाइएको छ । धान जोखाइ र तौलाइका लागि कार्यालयले तीन वटा काँटा सञ्चालनमा ल्याएको छ ।
स्टोरकिपर दीपक शर्माका अनुसार मजदुरको अभावका कारण तीन वटा काँटा मात्रै सञ्चालन गर्न सकिएको भए पनि मजदुर थपेर काँटा सङ्ख्या बढाउने तयारी भइरहेको छ । जोखाइ तौलाइका मजदुरलाई प्रतिक्वीन्टल ४० रुपैयाँ प्रदान गरिँदै आएको छ ।
हालसम्म ६५५ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराएका छन्, जसमा २०१ किसानसँग धान खरिद भइसकेको छ । एक किसानबाट बढीमा ४० क्वीन्टल धान मात्र खरिद गरिने व्यवस्था छ । किसानलाई भुक्तानी बैङ्कमार्फत उपलब्ध गराइँदै आएको छ भने धान बिक्रीका लागि किसानको बैङ्क खाता, मोबाइल नम्बर र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ ।
गत वर्ष कार्यालयलाई ४० हजार क्वीन्टल धान खरिद कोटा दिइएको थियो । किसानको चाप बढेपछि थप १५ हजार क्वीन्टल मध्यम धान खरिद गर्ने गरी लक्ष्य ५५ हजार क्वीन्टल पुर्याइएको थियो । सोमध्ये ३२ हजार क्वीन्टलभन्दा बढी धान खरिद गर्न कार्यालय सफल भएको थियो ।
सत्यपाटी