बाँकेको कोहलपुरस्थित हुलास खाद्य उद्योगमा म्याद नाघेका ९१ बोरा पिठो (आँटा) भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके र कोहलपुर नगरपालिका–१४ का जनप्रतिनिधिसहितको टोलीद्वारा भएको संयुक्त अनुगमनमा कोहलपुर–१४ मा रहेको उक्त उद्योगमा ९१ बोरा पिठो म्याद नाघेको अवस्थामा भेटिएको हो ।
ती बोरामा रहेको पिठोको मूल्य दुई लाख ३६ हजार नौ सय रुपियाँ रहेको उद्योगले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख प्रशान्त पोखरेलले सो उद्योगको संयुक्त अनुगमन गर्दा उद्योगभित्र ९१ बोरा म्याद नाघेको पिठो अर्थात् आँटा भेटिएकाले सो पिठोका बोरालाई टोली र उद्योगका कर्मचारीको रोहबरमा नष्ट गरिएको बताए ।
उनले भविष्यमा यस्तो अवस्था आएमा पहिल्यै सम्बन्धित निकायलाई जानकारी गर्न उद्योगलाई निर्देशन दिइएको पनि बताए । आँटा उत्पादन गर्दा धुलो धेरै उड्ने गरेको र किरा पनि आँटामा पर्न सक्ने सम्भावना देखिएकाले त्यसको पनि उचित व्यवस्था गर्न पनि उद्योगका कर्मचारीलाई निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले जनाएको छ ।
सो कार्यालयले बेला बेलामा बजार अनुगमन गर्दै आएको जनाउँदै कार्यालय प्रमुख पोखरेलले तरकारीमा विषादीको अवस्था लगायत बजारमा अखाद्य र म्याद नाघेका खाद्य भए नभएकोबारे पनि अनुगमन गरिरहेको बताए ।
सत्यपाटी