नेपालगन्ज–गुलरिया सडक विस्तारको काम अन्तिम चरणमा पुग्दा सुरुवाती करिब दुई किलोमिटर सडक विस्तारमा अन्यौलता देखिएको छ । नेपालगन्जको धम्बोझीदेखि बर्दियाको गुलरियासम्म सडक विस्तारको योजना भए पनि घना बस्ती भएका कारण धम्बोझी भन्दा करिब दुई किलोमिटर पश्चिम नन्दनी मिलबाट सडक निर्माण कार्य सुरु भएको थियो ।
नन्दनी मिलदेखि गुलरियासम्मको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख डिभिजनल इन्जिनियर लीलाबहादुर भण्डारीले जानकारी दिए । भण्डारीले भने, ‘धम्बोझीदेखि नन्दनी मिलसम्म घनाबस्ती भएको र सडक क्षेत्रभित्र घर तथा अन्य संरचना भएका कारण निर्माण कार्य अघि बढाउन सकिएको छैन ।’
उनले सडक निर्माणका लागि बजेट विनियोजन भएको भन्दै स्थानीय बासिन्दा सहमतिमा आएपछि तत्कालै निर्माण कार्य अघि बढ्ने जानकारी दिए । धम्बोझीदेखि नन्दनीमिलसम्म दर्जनौं घर लगायत अन्य संरचना सडक क्षेत्रभित्र भएका कारण हुलाकी राजमार्गलाई निर्माण कार्य अघि बढाउन कठिनाई भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सडक निर्माण कार्य सुरुवात हुने समयमा उपमहानगरपालिका र हुलाकी सडक आयोजनाबिच प्रारम्भिक छलफल भई सुरुमा नन्दनी मिल पश्चिमको सडक निर्माण सम्पन्न गरेपछि मात्रै धम्बोझीतर्फको सडक निर्माण अघि बढाउने मौखिक सहमति भएको जानकारी दिए ।
नगर प्रमुख विष्टले भने, ‘सुरुमै स्थानीयको घर भत्काउँदा निर्माण कार्यमा बिलम्ब भए समस्या हुने थियो, त्यसैले सुरुमा अन्यत्रको सडक विस्तार गरी स्थानीयलाई विश्वासमा लिने विषयमा छलफल भएको थियो, अब अन्यत्रको सडक निर्माण भइसकेकाले धम्बोझीको सडक पनि फराकिलो बनाउन आवश्यक छ ।’ उनले सडक विस्तारका लागि घर लगायत अन्य संरचना हटाउन उपमहानगरपालिकाले सहजीकरण गर्ने विश्वास दिलाए ।
नन्दनीमिल भन्दा पश्चिम सडक विस्तार भई आवागमनमा सहजता भएको छ भने धम्बोझीसम्म जीर्ण र साँघुरो भएका कारण आवागमनमा समस्या हुने गरेको छ । ३२ किलोमिटर लम्बाईको नेपालगन्ज–गुलरिया सडक करिब तीन अर्बमा शर्मा एन्ड शर्मा कम्पनीले निर्माण गरिरहेको छ । यो सडक घना बस्ती क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेनको निर्माण गरिएको छ ।
