नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी)को सात सिट रिक्त भएको छ । कात्तिक १७ गते पाँच जनालाई डीआइजीमा बढुवा गर्ने निर्णयसँगै पाँच पद रिक्त भएको थियो भने त्यसपछि थप दुई सिट रिक्त भएको छ । विश्व अधिकारीको डीआइजीमा बढुवा र एसएसपी प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएसँगै रिक्त सिट संख्या सात पुगेको हो ।
कात्तिक २० मा गृहमन्त्री ओमप्रकाश अर्यालले रानाभाटको राजीनामा स्वीकृत गरेका थिए । कात्तिक १७ गते भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्ले डीआइजीमा बढुवा भएका थिए । उनीहरू २०५६ असार ३ मा सेवा प्रवेश गरेका थिए । सो ब्याचको एक नम्बर वरीयतामा रहेर छुटेका विश्व अधिकारी मंसिर ८ मा डीआइजीमा बढुवा भए ।
रिक्त वरिष्ठ उपरीक्षक पदमा बढुवा हुन १७ जना उपरीक्षक (एसपी) प्रतिस्पर्धामा छन् । बढुवा हुन योग्य सूचीको पहिलो नम्बरमा विमल बस्नेत छन् । मेरिट लिस्टको दुई नम्बरमा रामप्रकाश शाह छन् । उनीहरू दुवै जना राष्ट्रिय अनुसन्धान विभागबाट स्थनान्तरण भएर प्रहरीमा आएका हुन् । बस्नेत राष्ट्रिय अनुसन्धान विभागमा २०५३ पुस ९ मा भर्ना भएका थिए । शाह २०५५ भदौ १० मा सेवा प्रवेश गरेका थिए ।
बस्नेत र शाहभन्दा पछाडिको सूचीमा नेपाल प्रहरीको जनपद समूहमा सेवा प्रवेश गरेर २०७७ माघ २० मा एसपी भएका अधिकृतहरू एसएसपी बढुवा हुने प्रतिस्पर्धामा छन् । भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, बासुदेव खतिवडा, प्रतिज केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र विरेन्द्रबहादुर शाही बढुवाका आकांक्षी हुन् ।
पहिलो नम्बरमा रहेका विमल बस्नेत यसअघि पनि पटक–पटक बढुवामा छुट्दै आएका अधिकृत हुन् । २०८२ साउन ५ मा आफूभन्दा जुनियरलाई बढुवा सिफारिस गरिएको भन्दै बस्नेतले बढुवा उपरको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए । त्यसबेला समितिले उनको उजुरी खारेज गरेको थियो । प्रहरी नियमावली अनुसार बढुवाविरुद्ध उजुरी गरेपछि २ नम्बर घट्ने प्रावधान छ ।
२०७७ मा अनियमितताको आरोपमा निलम्बनमा परेका बस्नेतलाई प्रहरी प्रधान कार्यालयले त्यसबेला पाँच वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि बस्नेत लगातार बढुवामा छुटिरहेका छन् । कार्यसम्पादन मूल्याङ्कन बापत ७.५ नम्बर दिने अधिकार बढुवा समितिमा हुन्छ । सिट संख्या थोरै र आकांक्षी धेरै हुँदा काबिल अधिकृतहरू यसपटक पनि छुट्न सक्ने प्र्रहरी अधिकृत बताउँछन् ।
उनीहरूको ब्याचका अधिकांश सहकर्मी यसअघि नै एसएसपीमा बढुवा भइसकेका छन् । प्रहरीभित्र काबिल भनेर चिनिएका दिलिप घिमिरे, श्यामसिंह चौधरी, बिरेन्द्र शाही र सुवासचन्द्र बोहरा वरीयतामा पछाडि छन् । ऋषिराम कँडेल वरीयताको चौथो नम्बरमा र सुरेश प्रसाद काफ्ले मेरिट लिस्टको पाँचौँ नम्बरमा छन् । संयुक्त राष्ट्रसंघको मिशनमा लामो समय काम गरेका काफ्ले अहिले सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाईका प्रमुखको रूपमा कार्यरत छन् ।
वरीयताको चौथो नम्बरमा रहेका ऋषिराम कँडेल कपनस्थित केन्द्रीय विशेष कार्यदलको प्रमुख हुन् । जेनजी प्रदर्शन हुँदा कार्यदलबाट संसद् भवनको सुरक्षामा खटिएका प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारीले ज्यान गुमाए । आन्दोलनमा कँडेल पनि संसद् भवन परिसरमा खटिएका थिए । प्रहरी उपरीक्षक भएपछि लामो समय युएन मिसनमा काम गरेका अमरेन्द्र बहादुर सिंहले जिल्ला कमाण्ड गरेका छैनन् ।
भदौ २४ मा भएको प्रदर्शनमा उच्छृङ्खल समूह प्रहरी प्रधान कार्यालयभित्र प्रवेश गर्न खोजेपछि एसपी सुवासचन्द्र बोहरा नेतृत्वको टिमले प्रधान कार्यालय जोगाएको थियो । त्यसबेला बोहरा नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ को इन्चार्ज थिए । अहिले उनी मकवानपुरको प्रहरी प्रमुख हुन् । रौतहट जिल्लाको कमाण्ड गरेका दिलिप घिमिरे प्रहरीमा काबिल र कमाण्ड क्षमता भएका अधिकृतको रूपमा चिनिन्छन् । प्रहरीमा दरबरन्दी हेरफेर गर्नेगरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) सुरु गरिएको छ ।
मंसिर ८ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । पूर्वस्वीकृतिसँगै गृह मन्त्रालयले ओएण्डएमको काम सुरु गरेको छ । ओएण्डएम सर्वेक्षण गरेर प्राविधिक तर्फका दुई वटा एसएसपीको दरबन्दी जनपदतर्फ ल्याउन लागिएको छ । केनाइन कार्यालय र कार्यविभाग मातहत रहेको सवारी महाशाखाको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गर्न लागेको बताइएको छ । बढुवा गर्नुपर्ने आकांक्षीको संख्या धेरै भएपछि ओएण्डएम सर्वेक्षण गरेर दुईसिट थपेपछि बढुवा सिफारिस गरिने भएको हो ।
