२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

दल दर्ताको समय चार दिन थपियो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर ११ गते बिहीबार

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ता म्याद चार दिन बढाएको छ । आयोगका अनुसार बुधबारसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि १०६ वटा दलले निवेदन दिएका छन् । प्रतिनिधिसभा निर्वाचन हुन ९९ दिन बाँकी छ ।

आयोगका अनुसार नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मिुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल लगायत आयोगमा दर्ता भइसकेका छन् ।

आयोगमा दर्ता कायम रहेका नयाँ–पुराना अधिकांश दलले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन निवेदन दिइसकेका छन् । यसअघि आयोगले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्न समय दिएको थियो । पार्टीहरूको आग्रहबमोजिम दल दर्ताका लागि थप चार दिन समय दिइएको आयोगले जनाएको छ ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र विभिन्न दल लगायतका सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता अवधि २०८२ मंसिर १४ गतेसम्म थप गरिएको छ,’ आयोगद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा हालसम्म दर्ता कायम रहेका दलहरूको संख्या १३७ पुगेको छ । आयोगमा नयाँ दल दर्ताका लागि प्राप्त निवेदनहरूमाथिको कारबाही पनि जारी रहेको कर्मचारीले जनाएका छन् ।

आयोगका अनुसार माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन चाहने दलहरूलाई आयोगमा दल दर्ता हुन मंसिर १ देखि ७ गतेसम्मको समय दिइएको र त्यस अवधिमा १३ वटा दलबाट दल दर्ता निवेदन प्राप्त भएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार