नेपाल राष्ट्र बैंक लिमिटेडले १०० रुपैयाँको नयाँ नोट आज (मंसिर ११ गते) बाट प्रचलनमा ल्याएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो ।
तत्कालिन गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नयाँ नोट नयाँ विशेषतासहित चलनचल्तीमा आएको छ । ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ,’ भन्ने लेखिएको छ ।
सुरक्षाका लागि नोटमा दुई मिमी चौडा भएको र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ । नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत छ भने तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।
साबिककै आकार र रङमा आजदेखि चलनचल्तीमा आएको नयाँ नोटको मध्य भागमा नेपालको लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहेको छ भने दृष्टिविहीनहरुलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला र बाँयातर्फ अण्डकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको बैंकले जनाएको छ ।
यसअघि राष्ट्र बैंकले २०७६ साल असोज ७ गतेदेखि रुपैयाँ १०० दरको बैंक नोट सङ्केत नं. ओ १८ ०००००१ देखि क ३७ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनिएको थियो । तर १८ ओ ०००००१ देखि १९ क १९ ०३४५०० सम्म मात्र चलनचल्तीमा ल्याइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


सत्यपाटी