बाँकेमा दुर्घटना न्यूनीकरण तथा सवारीसाधन सञ्चालनलाई सुरक्षित र सहज बनाउन जिल्लामा विशेष साप्ताहिक अभियान सञ्चालन गरिएको छ । दुर्घटना न्यूनीकरणसँगै ट्राफिक सचेतना बढाउने उद्देश्यले जिल्लामा ‘सार्वजनिक तथा निजी सवारीसाधनहरुमा अस्पष्ट नम्बर प्लेटलाई पुनःलेखन गर्न विशेष साप्ताहिक अभियान’ सञ्चालन गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक कनकबहादुर शाहीले दुर्घटना न्यूनीकरणसँगै ट्राफिक सचेतना बढाउने उद्देश्यले जिल्लामा ‘सार्वजनिक तथा निजी सवारीसाधनहरुमा अस्पष्ट नम्बर प्लेटलाई पुनःलेखन गर्न विशेष साप्ताहिक अभियान’ सञ्चालन गरिएको बताएका छन् ।
उनले जिल्लामा धेरै सवारीसाधनको नम्बर प्लेट प्रष्ट नदेखिने, अक्षर मेटिएको, काटिएको तथा नम्बर नै हराएको अवस्थामा रहेको पाइएपछि अस्पष्ट नम्बर प्लेटलाई पुनःलेखन गर्न विशेष अभियान नै सञ्चालन गरिएको बताए । सो अभियान अन्तरगत हालसम्म १०५ वटा विभिन्न प्रकारका सवारीसाधनलाई रोकेर कारबाहीस्वरुप ती साधनको नम्बर पुनःलेखन गर्न लगाइ चेतावनी दिएर सम्झाईबुझाइ गरी पठाइएको ट्राफिकले जनाएको छ ।
सो अभियान सञ्चालन गरिएपछि धेरैले आफैं नम्बर प्लेट दुरुस्त गराएको पाइएको समेत जनाउँदै ट्राफिक प्रहरी प्रमुख शाहीले कारबाही र जरिवानाको डरले पनि धेरैले नम्बर प्लेट दुरुस्त गराएको पाइएको बताए । यसअघि आफुखुशी स्वरूप परिवर्तन ‘मोडिफाइड’ गरेर सवारीसाधन चलाउने, गाडीमा अतिरिक्त सिट बनाएर मानिस झुन्ड्याउने तथा ओभरलोड गाडी चलाउनेहरुलाई पनि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको थियो ।
सो कारबाहीपछि धेरैले इभि–भ्यान र म्याजिक भ्यानहरुमा आफुखुसी मानिस झुन्ड्याउनका लागि बनाइएका फलामको डण्डी र सिटको स्वरुपलाई हटाएका थिए । सोही प्रकारले मोटरसाइकललाई मोडिफाइड गरेर चर्को ध्वनि निकाल्ने मोटरसाइकल चालकहरुलाई पनि कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यसका साथै अत्याधिक भवरलोड बोकी भारतबाट आइरहेका विभिन्न ट्रक र ट्याङ्करहरुलाई पनि नियन्त्रणमा लिएर भब्वर लोडलाई पल्टी गराइ कारबाही गरी सुरक्षित गन्तव्यमा पठाउने गरिएको जनाइएको छ । बाँकेका विभिन्न स्थानमा दैनिकजसो ट्राफिक सचेतना कार्यक्रम गरेर चालकहरुलाई ट्राफिक नियमका बारेमा जानकारी गराउने कार्य पनि निरन्तर चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

