२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

नेपालगन्ज नाकाबाट चार महिनामा २४ अर्ब ५७ करोड बढीको व्यापार

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ मंसिर ९ गते मंगलबार

पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट गत चार महिनाको अवधिमा साढे २४ अर्बभन्दा बढीको व्यापार भएको छ । चालु आर्थिक वर्ष २०८२–०८३ को चार महिनामा नेपालगन्ज नाकाबाट २४ अर्ब ५७ करोड ६३ लाख ७२ हजार रुपैयाँको व्यापार भएको हो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार चार महिनाको अवधिमा यस नाकाबाट २३ अर्ब ८० करोड ३५ लाख २६ हजारको आयात ७७ करोड २८ लाख ४६ हजारको निर्यात गरेर २४ अर्ब ५७ करोड ६३ लाख ७२ हजार रुपैयाँको व्यापार भएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको चार महनिामा यो नाकाबाट करिब दुई अर्बभन्दा बढी कारोबार वृद्धि भएको हो ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आर्थिक वर्ष २०८१–००८२ मा यो नाकाबाट २१ अर्ब ९७ करोड ३० हजार रुपैयाँको आयात र ६६ करोड २७ लाख ६७ हजारको निर्यात गरेर २२ अर्ब ६३ करोड २७ लाख ९७ हजारको व्यापार भएको बताए । गत बर्षको तुलनामा यस नाकामा कारोबार वृद्धि भए पनि राजस्व सङ्कलन भने पाँच करोडले घटेको छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ को सुरुको चार महिनामा छ अर्ब एक करोड ३४ लाख ८० हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको छ भने गत आर्थिक वर्ष २०८१–०८२ को चार महिनामा छ अर्ब सात करोड ५६ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

भदौ महिनामा भएको जेनजी आन्दोलनका कारण केही दिन राजस्व सङ्कलन प्रभावित भएकोले पनि गत आर्थिक वर्षको भन्दा चालु आवमा अलिकति राजस्व घटेको हुन सक्ने प्रमूख पौडेलले बताए । भन्सार कार्यालयका प्रमुख पौडेलका अनुसार अनुसार गत आर्थिक वर्षको साउनमा एक अर्ब ५० करोड ३८ लाख ३४ हजार राजस्व सङ्कलन भएको थियो ।

चालु आर्थिक वर्षको साउन महिनामा एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ भने गत आर्थिक वर्षको भदौमा एक अर्ब ४९ करोड ५ लाख २० हजार राजस्व सङ्कलन भएकोमा चालु आवको भदौ महिनामा एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

गत आवको असोज महिनामा एक अर्ब ४१ करोड २९ लाख ४२ हजार राजस्व सङ्कलन भएकोमा यस बर्ष वृद्धि भई एक अर्ब ७४ करोड १६ लाख पाँच हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ । सोही प्रकारले गत आवको कात्तिक महिनामा एक अर्ब ६६ करोड ८३ लाख ७ हजार राजस्व सङ्कलन भएकोमा चालु आवको कात्तिक महिनामा एक अर्ब ५३ करोड ७० लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार