२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

फत्तेबाल आँखा अस्पतालमा २९ लाख २९ हजार बढीको उपचार

नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले स्थापना भएदेखि ओपीडि सेवामार्फत २९ लाख २९ हजारभन्दा बढीको आँखाको उपचार गरेको छ । अस्पतालले गत आर्थिक वर्षसम्म २९ लाख २९ हजार ५६३ जनाको आँखाको विभिन्न उपचार गरेको जनाएको छ ।

विक्रम संवत् २०४३ सालमा स्थापना भएको अस्पतालले ती मध्ये दुई लाख ९१ हजार ५५३ जनाको आँखाको शल्यक्रिया समेत गरेको अस्पतालका स्वास्थ्य प्रमुख निर्देशक डा.देवराज भारतीले बताए । उनका अनुसार फत्तेवाल आँखा अस्पताल नेपालगन्जप्रति बिरामीहरूको भरोसा पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढ्दै गएको छ ।

अस्पतालको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असोजसम्मको २६ हजार २४४ जनाले अस्पतालको ओपिडी सेवा लिएका छन् । जसअनुसार साउनमा १० हजार ३३०, भदौमा आठ हजार ६६५ र असोजमा सात हजार २४९ जना आँखाका बिरामीले सेवा लिएका हुन् । गत आर्थिक वर्ष २०८१–०८२ मा अस्पतालले एक लाख ३७ हजार ७३१ जना बिरामीलाई ओपिडी सेवा प्रदान गरेको थियो ।

अस्पतालले अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा एक लाख ३३ हजार ३३३ जना विरामीलाई ओपिडी सेवा दिएको थियो भने चालु आर्थिक वर्षमा असोजसम्म एक हजार ३२६ जनाले शल्यक्रिया सेवा लिएका छन् । अस्पतालका अनुसार साउनमा ४००, भदौमा ६०० र असोजमा ३२६ जना बिरामीले सर्जरी सेवा लिएका छन् भने गत आर्थिक वर्ष २०८१–०८२ मा नौ हजार ७८८ र अघिल्लो आव २०८०–०८१ मा आठ हजार ६१२ जनाले शल्यक्रिया सेवा लिएका थिए ।

अस्पतालले बेला बेलामा बिभिन्न बाँके जिल्लामा मात्र नभई नजिकका बिवभिन्न जिल्लाहरुमा निःशुल्क आँखा शिविर, आँखा स्वास्थ्य शिक्षा कार्यक्रम र अन्य सामुदायिक सेवाहरू पनि निरन्तर सञ्चालन गर्दै आएको छ । गुणस्तरीय सेवा र भरोसाले फत्तेवाल आँखा अस्पताल प्रदेशदेखि भारतसम्मका बिरामीको प्रमुख रोजाइ बनेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सेवा लिने बिरामीमध्ये करिब ५० प्रतिशत भारतबाट आएका बिरामीहरु रहेका छन् ।

भारतको बहराइच, गोण्डा, गोरखपुर, लखनऊ, अयोध्या, सितापुर र लखिमपुर लगायतका शहरका बिरामी नियमित रूपमा उपचारका लागि फत्तेवाल आँखा अस्पताल आउने गरेका छन् । यस्तै नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आँखाका बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार