२०८३ कात्तिक ६ , बिहीबार 23, October 2026, Friday

भारत जान थालेका झन्डै ३० वटा हात्ती मोरङतर्फ फर्किए

दुई वर्ष नेपाल बसेर भारततर्फ फर्कन लागेका झन्डै ३० वटा हात्ती झापाको रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतर्फै फर्किएका छन् । गत हप्ता मोरङको सुन्दरहरैचा क्षेत्रको जङ्गलबाट पूर्वतर्फ लागेको हात्तीको लस्कर पूर्वी गौडा बाहुनडाँगी हुँदै भारततिर लाग्ने अनुमान थियो ।

तर बथानबाट ठूलो सङ्ख्या मोरङतिरै फर्किसकेको छ भने केही संख्यामा झापाको जङ्गलतिरै बरालिरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए । झापा र मोरङका जङ्गलमा कम्तीमा ३० वटा रैथाने हात्ती छन् ।

त्यति नै संख्याका हात्ती भारतबाट आएर लामो समय बसेपछि दुई जिल्लामा मानव–हात्ती द्धन्द्ध बढ्ने जोखिम बढेको डिभिजन वन कार्यालय झापाका प्रमुख श्रेष्ठले बताए । सीमित क्षेत्रफलको जङ्गलमा हात्तीको सङ्ख्या थपिदै जाँदा बास र पर्याप्त आहार हुँदैन । भोकाएर हात्तीको बथान गाउँबस्तीतिर प्रवेश गर्ने हुँदा त्यसको मार जङ्गल छेउका बासिन्दाले व्यहोरिरहेका छन् ।

भारतको आसामदेखि पश्चिम बङ्गालको सुकुना हुँदै नेपाल भित्रिने बथानका हात्तीले पुस्तौँदेखि निरन्तर ओहोरदोहोर गरिरहेका चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेल बताउँछन् । अहिले झापा र मोरङमा आहारका लागि धान, मकै र केरा पर्याप्त भएकाले हात्तीहरू भारततिर नगएको हुनसक्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८२ मंसिर ६ गते शनिबार