२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

घुम्ती शिविरमार्फत व्यवसाय दर्ता र नवीकरण गर्दै खजुरा

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ मंसिर ५ गते शुक्रबार

बाँकेको खजुरा गाउँपालिकाले हिजो बिहीबारदेखि व्यवसाय दर्ता तथा नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गरेको छ । स्थानीय व्यवसायीहरूलाई एउटा स्थानमै दर्ता, नविकरण तथा परामर्श सेवा प्रदान गर्ने उद्देश्यले व्यवसाय दर्ता तथा नवीकरण शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिकाको आव २०८२–०८३ को स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयन जनताको घरदैलोमा सेवा दिने लक्ष्य बमोजिम पालिकाको व्यवसाय करसम्बन्धी कार्यविधि, २०७७ को दफा ३ अनुसार नवीकरण गर्नुपर्ने व्यवस्थाअनुरूप अभियान नै सञ्चालन गरिएको खजुरा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।

अपाङ्गता भई व्यवसाय गर्नेहरूका लागि घुम्ती शिविर अवधिभर दर्ता नवीकरणवापत लाग्ने रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । पालिकाले १४ गतेसम्म व्यवसाय दर्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरिरहेको छ । पालिकाले हिजो मंसिर ४ गते बिहीबार १ नम्बर वडा कार्यालयबाट घुम्ती शिविरको सुरुवात गरेको पालिकाले आज ५ गते शुक्रबार ‘सी’ गाउँ स्कुल परिसरमा शिविर सञ्चालन गरिरहेको छ ।

यस्तै, सिमलघारीमा ७ गते आइतबार, ७ नं. वडा कार्यालयमा ८ गते सोमबार, ४ नं. वडा कार्यालयमा ९ गते मंगलबार, ८ नं. वडा कार्यालयमा १० गते बुधबार, ५ नं. वडा कार्यालयमा ११ गते बिहीबार, वडा नं. २ को स्वास्थ्य चौकीको कार्यालयमा १२ गते शुक्रबार र गाउँपालिकाको कार्यालयमा मंसिर १४ गते आइतबार शिविर सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।

व्यवसाय दर्ता तथा नविकरण प्रक्रिया सम्बन्धी साक्षरता कर नियमितिकरण तथा लाइसेन्स व्यवस्थापनका साथै भविष्यमा आवश्यक पर्ने कागजातबारे जानकारीसहित सञ्चालित शिविरमा दर्ता तथा नविकरणका लागि स्थानीय व्यापारी तथा उद्यमीहरूको उत्साहजनक उपस्थिति रहेको छ । सेवा लिन आएका सहभागिहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको शिविरमा खटिएका वडा कार्यालयका जनप्रतिनिधि तथा कर्मचारीहरूले बताएका छन् ।

प्रकाशित मिति : २०८२ मंसिर ५ गते शुक्रबार