बाँकेका पाँच वटा स्थानीय तहबीच सीमा विवाद रहेको पाइएको छ । जिल्ला समन्वय समिति बाँकेको समन्वयमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले आयोजना गरेको जिल्ला स्तरीय समन्वय तथा सल्लाहकार बैठकमा सो विवाद सार्वजनिक भएको हो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले डुडुवा गाउँपालिकाको वडा नं. ५ र राप्तीसोनारी गाउँपालिका वडा नं. ६ राप्ती नदीको बगरमा सीमा विवाद रहेको बताए । उनका अनुसार सीमा विवादकै कारण राप्तीसोनारी–६ र डुडुवा–५ को सीमा क्षेत्रमा रहेको राप्तीमा नदीजन्य पदार्थ कस्ले उत्खनन गर्ने भन्ने विषयमा विवाद हुँदै आएको हो ।
सीमा अतिक्रमणका विषयमा दुबै स्थानीय तहको आ–आफ्नै दाबी छ । दुई स्थानीय तहबिच सीमा विवाद कायम रहेकै बेला डुडुवा गाउँपालिकाले अहिले जबरजस्ती ‘गाउँ प्रहरी’ परिचालन गरेर नदीजन्य पदार्थ धमाधम उत्खनन गरेको आरोप राप्तीसोनारी–६ का वडाध्यक्ष लवराज खरेलले लगाए ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले आफ्नो क्षेत्रमा आएर डुडुवाले जबरजस्ती नदीजन्य पदार्थ उत्खनन गर्ने गरेको बताए । तर डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले भने राप्तीसोनारी–६ ले आफ्नो सीमा दाबी गरेको क्षेत्र डुडुवाभित्र पर्ने भएकाले त्यहाँ आफ्नो उपस्थिति रहेको बताए ।
यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख चौधरीका अनुसार कोहलपुर नगरपालिका वडा नं.१ र बैजनाथ गाउँपालिका वडा नं.४ बीच एउटा बस्ती नै सीमा विवादमा परेको छ । त्यस्तै खजुरा गाउँपालिकाको वडा नं.४ र बैजनाथ गाउँपालिकाको वडा नं.७ मा पनि सीमा विवाद रहेको देखिएको छ ।
उनले पालिकाबीचको सीमा विवाद समाधानका लागि आफूले पहल गरिरहेको जानकारी दिँदै जल, जङ्गल र जमिन सम्बन्धी बहुसरोेकारवाला विवाद समाधानमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले काम गरिरहेको बताए । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका रोहित चौधरीले बाँकेका स्थानीय तहबीच देखिएको सीमा विवाद समाधानको प्रक्रिया जारी रहेको बताए ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा जिसस उपप्रमुख सीता कार्की, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनीषा थारु, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल लगायतले पालिका पालिकाबीचको विवाद छिटोभन्दा छिटो समाधान गर्नुपर्नेमा जोड दिए ।
सत्यपाटी