आज विश्व टेलिभिजन दिवस हो । यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ । निर्णय प्रक्रिया, जनमत निर्माण, शान्ति सुरक्षा तथा विकास सम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसङ्घको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो ।
सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । टेलिभिजन सूचना आदानप्रदान विश्वभरका समुदायलाई जोड्ने, संवेदनशील विषयमा ध्यानाकर्षण गराउने र सार्वजनिक धारणा निर्माणमा सहायता पुर्याउने प्रमुख माध्यम मानिन्छ ।
टेलिभिजन इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण शुरु गरेको पाइन्छ । सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगिन दृश्यहरु हेर्न सकिने अवस्था आएको हो । सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो। नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९६ को नोभेम्बर २१ र २२ मा पहिलो विश्व टेलिभिजन फोरम आयोजना गरेर विश्वका प्रमुख सञ्चारकर्मीहरूलाई एकै स्थानमा ल्याएर बदलिँदो विश्वमा टेलिभिजनको भूमिका, प्रभाव र अन्तर्राष्ट्रिय सहकार्य कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो । त्यसपछि हरेक वर्ष २१ नोभेम्बरलाई विश्व टेलिभिजन दिवसका रूपमा मनाउन थालिएको हो । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले दुई दर्जन बढी टेलिभिजन च्यानलहरू नियमित प्रसारणमा छन् ।
