२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरीको मृत्यु भए बढुवासहित पेन्सन

सशस्त्र प्रहरीले विपद् उद्धारमा खटिएका बेला मृत्यु भए बढुवासहित पेन्सन पाउने भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गरेसँगै यो व्यवस्था सुरु भएको हो ।

मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावली चौथो संशोधन गर्दै विपद् उद्धारमा खटिएका बेला मृत्यु भएका सशस्त्र प्रहरीका कर्मचारीलाई एक तह बढुवा र उनका परिवारलाई पारिवारिक निवृत्तिभरण (पेन्सन) दिने निर्णय गरेको छ ।

यसअघि नियमावलीले मुठभेड, आक्रमण, बिस्फोट वा हतियारधारी समूहविरुद्धको कारबाहीका क्रममा मृत्यु भएमा मात्र यस्तो सुविधा दिने व्यवस्था थियो । नयाँ संशोधनपछि प्राकृतिक विपद् तथा संकट व्यवस्थापनको क्रममा ज्यान गुमाउने प्रहरीलाई पनि उस्तै सुविधा लागू हुनेछ ।

निर्णयले विपद् जोखिममा खटिने सुरक्षाकर्मीको मनोबल बढ्ने सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाको भनाइ छ । यसअघि सशस्त्रको नियमावलीको नियम ७६ को उपनियम २ मा कुनै प्रकारको मुठभेड वा आक्रमण वा बिस्फोट तथा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारबाहीमा तत्काल वा सोही कारणले मृत्यु भएमा मात्रै यस्तो सुविधा दिने उल्लेख थियो ।

प्रकाशित मिति : २०८२ मंसिर ४ गते बिहीबार