२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

एसइई परीक्षा दिन १४ वर्ष उमेर नपुगे के गर्ने ?

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुनका लागि जुन सालको परीक्षा दिने हो सोही सालको चैत्र मसान्तमा १४ वर्षको उमेर पुगेको हुनुपर्ने कानुनी व्यवस्था छ । तर,कतिपय विद्यार्थीहरूको उमेर १४ वर्ष नपुग्दा एसइई परीक्षा दिनबाट बञ्चित हुनुपर्ने अवस्था देखिएपछि अभिभावक र विद्यार्थीहरू चिन्तित छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसइई परीक्षामा सहभागी हुनका लागि परीक्षा आवेदन फाराम भर्ने भराउने तथा एसइई २०८३ मा सहभागी हुनका लागि हाल कक्षा ९ मा रजिस्ट्रेसन फाराम भर्ने भराउने सूचना जारी भइसकेको छ । सूचना बमोजिम आवेदन फाराम भर्ने त्यस्ता विद्यार्थीहरूको आवेदन फाराम प्राप्त हुने क्रममा शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम ७८ (६) १४ वर्षको उमेर पुगेको हुनुपर्ने भन्ने व्यवस्था रहेकोमा कतिपय विद्यार्थीहरूको उपरोक्त अनुसारको उमेर नपुगी एसइई परीक्षाबाट वञ्चित हुनुपर्ने अवस्था भएको भनी विभिन्न विद्यालयबाट आवश्यक व्यवस्थाका लागि राष्ट्रिय परीक्षा बोर्ड र पञ्जिकरण विभागमा समेत अनुरोध आएको छ ।

त्यसरी उमेर नपुगेमा सबै विवरण सच्याउन सकिने व्यवस्था छ । कानुन, न्याय तथा संघीय मामिला मन्त्रालयद्वारा २०८२ साउन १४ गतेको नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनको दफा ७२ को राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा भएको संसोधनको (२) (क) १ मा कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनु परेमा सम्बन्धित व्यक्तिले एक पटक स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सकिनेछ भन्ने व्यवस्था छ । परीक्षा बोर्डले उमेरका कारण एसइई परीक्षाबाट बञ्चित नगराउनको लागि सबै स्थानीय तहलाई उमेर सच्याउनमा समन्वय र सहजीकरण गर्न आग्रह पनि गरेको छ ।

‘कतिपय विद्यार्थीहरूले भूलवस वा विभिन्न अन्य कारणबाट जन्मदर्तामा विवरण भर्दा उल्लेखित उमेरभन्दा कम भइ परीक्षामा सहभागी हुने आवेदन फाराम भर्दा उमेरहदका कारण त्यस्ता विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित हुने अवस्था सिर्जना हुन सक्ने देखिएकाले त्यहा अन्तर्गतको स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट माथि उल्लेखित राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन, २०७६ (संशोधन सहित) र मिति २०८२ मंसिर १ गतेको राजपत्रमा प्रकाशित नेपाल सरकार गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण (दोस्रो संशोधन) नियमावली, २०८२ को नियम २३ मा भएको व्यवस्था समेतको आधारमा उक्त व्यवस्था कार्यान्वयनमा समन्वय र सहजीकरण गरी विद्यार्थीले परीक्षा दिन पाउने गरी जन्मदर्ता संशोधन सम्बन्धी आवश्यक व्यवस्था मिलाउने कार्यमा सहयोग तथा समन्वय गरिदिनुहुन अनुरोध छ,’ अनुरोध पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ मंसिर ४ गते बिहीबार