२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

सवारी लाइसेन्स बनेको जानकारी अबदेखि विभागको फेसबुक पेजमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर ४ गते बिहीबार

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तयार भएको जानकारी अबदेखि आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिने भएको छ । विभागको अनलाइन प्रणालीमा आएको प्राविधिक समस्याका कारण पुरानो स्वचालित सूचना प्रणाली अवरुद्ध भएपछि यो नयाँ व्यवस्था लागू गरिएको हो ।

विभागले बिहीबार एक सूचना जारी गर्दै पहिले अत्यावश्यक सवारी लाईसेन्स छपाइका लागि अनलाइन फारम भरेर एप्रुभ भएका आवेदकलाई ७२ घण्टाभित्र लाइसेन्स लिन आउनु भनी पठाइने स्वचालित ‘नोटिफिकेसन’ प्रणाली हाल अवरुद्ध भएको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण (नाम लिस्ट) विभागको फेसबुक पेज (हेलो यातायात व्यवस्था विभाग) मा प्रकाशन गरिनेछ ।

विभागले आफ्नो फेसबुक पेजमा नाम प्रकाशित भएका आवेदकहरूलाई सक्कल राजस्व तिरेको रसिद लिएर अनुमति पत्र लिनका लागि विभागमा उपस्थित हुन अनुरोध गरेको छ । त्यसैगरी लाइसेन्स नवीकरण गर्ने वा नयाँ वर्ग थप गर्ने आवेदकको हकमा पुरानो सवारी चालक अनुमति पत्र पनि अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।

प्रकाशित मिति : २०८२ मंसिर ४ गते बिहीबार