सम्झौता गरेर काम नगर्ने बर्दियाको अमन कन्स्ट्रक्सनलाई खजुराको गाउँपालिकाले कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ । सम्झौता गरेको चार वर्ष पुगिसक्दा पनि अमन कन्स्ट्रक्सनले योजना पूरा गर्न सकेको छैन । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिृकत दिलबहादुर पौडेलले ठेक्का पाएको पाँच वटा योजनामा अमन कन्स्ट्रक्सनले कुनै प्रगति नदेखिएपछि कारबाहीको प्रक्रिया अगाडि बढाएको बताए ।
पौडेलले प्रमुख प्रशासकीय अधिकृतको रुपमा खजुराको जिम्मेवारी सम्हालेपछि काम योजना अलपत्र पार्ने कम्पनीलाई पटक–पटक ताकेता गर्दै काम सुरु गर्न दबाब दिँदै आएका छन् । गाउँपालिकाले सार्वजनिक सूचना जारी जारी गर्दै अमन कन्स्ट्रक्सनलाई सम्पर्कमा आउनु सुचित समेत गरेको छ । तर अमन कन्स्ट्रक्सन प्रतिनिधिहरु आफुहरुको सम्पर्कमा आउन नचाहेको गाउँपालिकाले बतायो ।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले अब केहि दिनमा सम्पर्कमा नआए अमन कन्स्ट्रक्सनलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी रहेको बताए । ठेकेदारका कारण लामो समयदेखि खजुरा विभिन्न ठाउँमा योजनाहरु अलपत्र परेको उनले बताए । ‘हामीले यसअघि पनि सार्वजनिक सूचना जारी गरेर योजनाहरुको जिम्मा लिएका ठेकेदार कम्पनीलाई सम्पर्कमा आउनको लागि सुचित गरेका थियौं,’ अधिकृत पौडेलले भने, ‘सूजना जारी गरिएपछि नै विभिन्न ठाउँमा कामको जिम्मेवारी लिएका ठेकेदार कम्पनी सम्पर्कमा पनि आएका थिए ।’
त्यसरी सम्पर्कमा आएका ठेकेदार कम्पनीका प्रतिनिधिहरुले बाँकी काम गर्छु भनेर प्रतिबद्धता जनाएका थिए । योजना सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अमन कन्स्ट्रक्सन पुनः सम्पर्कविहीन भएको अधिकृत पौडेलले जानकारी दिए । ‘सम्पर्कमा आएर कम्पनीका प्रतिनिधिहरुले रहेको काम गर्छु भनेर प्रतिबद्धता जनाएका थिए,’ अधिकृत पौडेलले भने, ‘अहिले पुनः ति प्रतिनिधिहिरु कामै नगरेर सम्पर्क विहिन भएका छन् ।’
काम गर्छु भनेकाले पालिकाले समय दिएको भए पनि अब भने कारवाही गर्नुपर्ने अवस्था आएको अधिकृत पौडेलले बताए । उनका अनुसार कारवाहीगर्नका लागि पालिकाले सार्वजनिक सूचना जारी गरेको छ । पालिकाका विभिन्न योजनाहरु सम्पन्न नभएपछि यसअघि पनि सार्वजनिक सूचना जारी गरेर सम्पर्कविहीन भएका ठेकेदारलाई सूचित गरेको थियो । पालिकाले अमन कन्स्ट्रक्सन गुलरिया–५ लाई कारवाही गर्ने प्रक्रिया सुरु गरेको हो । अमनले खजुराको पाँच वटा योजनाहरु अलपत्र पारेको छ ।
अमनले खजुरा गाउँपालिकासँग गरेको निर्माण सम्झौता अनुसार ठेक्का नम्बर १८–२०७७–२०७८ को एनआइसी बैंकदेखि मनकामना जाने सडक तथा नाली निर्माण, ठेक्का नम्बर १९–२०७७–२०७८ को गोपाल सिंह आलेको घरदेखि लालबहादुर रजालीको घरसम्मको बाटो स्तरउन्नती, ठेक्का नम्बर २४–२०७७–२०७८ को वडा नं.४ ई गाउँ नेपाल राष्ट्रिय मनकामना आधारभूत निम्न माध्यमिक विद्यालयदेखि पूर्व एफगाउँजाने बाटो कालोपत्रे, ठेक्का नम्बर २७–२०७७–२०७८ को वडा नं. ३ बि गाउँ ९० नम्बरदेखि १०५ नम्बर सम्मको बाटो स्तरोन्नती र ठेक्का नम्बर २८–२०७७– को वडा नं.४ ई गाउँदेखि पूर्व एफगाउँ जाने बाटो स्तरोन्नतीको योजनाको काम पूरा गर्न सकेको छैन ।
योजना निर्माण गर्ने कामको जिम्मा लिएको तर काम सम्पन्न नगर्ने, सम्पर्कविहीन हुने ठेकेदार कम्पनी एकपटक कारवाही स्वरुप कालो सूचीमा परेपछि अन्त पनि ठेक्का लिन नपाउने कानुनी व्यवस्था छ । खजुराले गाउँपालिकाले सम्झौता अनुसारको काम सम्पन्न गर्न पटक पटक म्याद समेत थप गर्दा ठेकेदारले वेवास्ता गरेकाले सार्वजनिक खरिद ऐन २०६३ अनुसार कालो सूचिमा राख्न सिफारिस गर्ने जनाएको छ । सिफारिसस गरेसँगै ठेकेदारसँगको सम्झौता रद्द हुने र ठेकेदारले काम गर्ने भनेर ठेक्का लिने समयमा बैंक ग्यारेण्टी गरिएको रकम फिर्ता पाउँदैनन् ।
ठेकेदार कम्पनीका कारण खजुराका विभिन्न ठाउँमा सात वटा योजना अलपत्र भएका थिए । जसका कारण स्थानीयवासीले समेत सास्ती खेप्न परेको छ । गाउँपालिकाको ताकेतापछि केहि कम्पनी सम्पर्कमा आएर काम समेत गरेको प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । उनका अनुसार अस्पतल निर्माण कार्यको ठेक्का पाएको गौरा सिस्ने अमन जेभी नेपालगन्जले पुनःर्निर्माणको कार्य गरिरहेको छ ।

