२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

अन्तरराष्ट्रिय स्तरमा एनपिएलको चर्चा, विदेशी खेलाडीको सहभागिताले दर्शक उत्साहित

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २ गते मंगलबार

काठमाडौँको कीर्तिपुरमा सुरु भएको ‘नेपाल प्रिमियर लिग’ (एनपिएल) दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय क्रिकेट समुदायमा पनि उल्लेखनीय चासो देखिएको छ । विश्वस्तरीय सञ्चारमाध्यम र विदेशी प्लेटफर्ममा एनपिएलमा नेपालको फ्रेन्चाइज क्रिकेटले अन्तरराष्ट्रियस्तरमा ध्यान तानेको हो ।

भारत र पाकिस्तानका क्रिकेट ‘फ्यान–पोर्टल’ र क्षेत्रीय वेबसाइटहरूले एनपिएललाई स्थान दिँदै चर्चा गरेका छन् । एनपिएलबारे भारतमा स्टार स्पोट्र्समार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ । भारतकै ‘फनकोड डटकम’लगायतमा पनि एनपिएलको प्रत्यक्ष प्रसारण भइरहेको छ ।

संयुक्त अधिराज्य बेलायतस्थित ‘क्रिकेट वल्र्ड डटकम’ ले एनपिएल–२ का टिम, स्क्वाड र विदेशी खेलाडीबारे विस्तृत सामग्री प्रकाशन गरेको छ । फाफ डू प्लेसिस, जेसन रोय र इम्रान ताहिरजस्ता अन्तरराष्ट्रिय खेलाडीको सहभागितालाई यसले नेपालको फ्रेन्चाइज क्रिकेट स्तरवृद्धिका साथै एनपिएललाई दक्षिण एसियाली टी–२० संरचनामा उदाउँदै गरेको नयाँ अवसरका रूपमा चर्चा गरेको छ ।

बिबिसी नेपाली सेवाले सोमबारको ‘साँझपख’मा उद्घाटनका दिनका खेलमा जनकपुर बोल्टस्लाई काठमाडौँ गोर्खाजले पराजित गरेको र क्रिकेटप्रेमीको आकर्षणबारे समाचार सम्प्रेषण गरेको थियो । बेलायतकै क्रिकेट प्लेटफर्म ‘विस्डेन डटकम’ले यसपटक एनपिएलको प्रसारण ढाँचामा आएको परिवर्तनलाई व्याख्या गरेको छ । यस प्रकारको स्थानले नेपाली क्रिकेट अब क्षेत्रीयस्तरमा प्रतिस्पर्धी बन्दै गएको सङ्केत मिलेको मान्न सकिन्छ ।

विदेशी खेलाडीको सहभागिताले दर्शक उत्साहित

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन् । चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदान भित्र र बाहिर रहेका दर्शक खेल हेर्न उत्साहित भएका छन् । पहिलो खेल अहिले कर्णाली याक्स र चितवन राइनोजबीच भइरहेको छ । यस्तै आजै साँझ पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्स खेल्नेछन् । दुवै खेलमा विश्व क्रिकेटमा नाम चलेका खेलाडी समावेश छन् ।

 

विदेशी खेलाडीसँग भएको अन्तरराष्ट्रिय स्तरको अनुभव नेपाली खेलाडीका लागि फाइदाजनक रहन्छ । पोखरा एभेन्जर्सले यसपटक विदेशी खेलाडीमा इङ्ल्यान्डका ड्यान डाउथवेटलाई समावेश गरेको छ । बलिङ र ब्याटिङ दुवैमा उनी उत्कृष्ट प्रदर्शनका लागि चिनिन्छन् । यस्तै पोखरा एभेन्जर्समा वेस्ट इन्डिजका रेमोन राइफर बलर समावेश छन् । यही टोलीमा इङ्ल्यान्डका एडम रोसिङ्टन (विकेटकिपर–ब्याटर) छन् । इङ्ल्यान्डकै जेसन रोय पनि पोखरामै आवद्ध छन् । उनी टी–ट्वान्टी क्रिकेट विधाका आक्रामक ब्याटर हुन् ।

न्युजिल्यान्डका जिम्मी निसमले पनि यसपाली पोखराबाटै खेल्दैछन् । विश्व फ्रेन्चाइज क्रिकेटमा उनी पनि उम्दा अलराउन्डर हुन् । विराटनगर किङ्ग्समा पनि अनुभवले खारिएका विदेशी खेलाडीको उपस्थिति छ । विराटनगर किङ्ग्समा स्कटल्यान्डका जर्ज मुन्सी समावेश छन् । उनी बायाँहाते ब्याटर हुन् । मुन्सी ठूलठूला सट प्रहार गर्न माहिर छन् । विराटनगरमा रहेका न्युजिल्यान्डका मार्टिन गप्टिल विश्व क्रिकेटमा चिनिएका खेलाडी हुन् । मुख्यतया टी–ट्वान्टी क्रिकेटमो उनले उल्लेखनीय खेल प्रदर्शन गरेका छन् ।

भारतका शुभम रन्जन घरेलु क्रिकेटमा चम्किएका युवा ‘अलराउन्डर’ हुन् भने दक्षिण अफ्रिकाका मर्चन्ट डी लान्गे तेज बलर हुन् । दुवै जनाको उपस्थितिले विराटनगर किङ्ग्स बलियो टोली बनेको छ । दक्षिण अफ्रिकाका फाफ डू प्लेसिसले विश्व क्रिकेट राम्रा फिनिसरमध्येका एक हुन् । यस्तै, इङ्ल्यान्डका सामुएल डाली ह्याज्लेट मध्यमक्रमका ब्याटर हुन् । यसले पनि पोखरासँगको प्रतिस्पर्धा रोचक बनाउने देखिन्छ । कर्णाली याक्समा भारतका इमरान शेख समावेश छन् । उनी लामो पारी खेल्न सक्ने खुबी भएका खेलाडी हुन् ।

यस्तै अष्ट्रेलियाका विल बोसिस्टोले आफ्नो देशबाट यु–१९ को कप्तानी भूमिका निर्वाह गरिसकेका छन् भने उनी मध्यम क्रमका भरपर्दा खेलाडी हुन् । स्कटल्यान्डका मार्क वाट टी–२० क्रिकेटमा प्रभाव जमाएका खेलाडीका रुपमा चिनिन्छन् । म्याक्स ओडाउड नेदरल्यान्ड्सका प्रमुख प्रारम्भिक खेलाडी हुन् । उनी बढीभन्दा बढी रन बनाउने क्षमता भएका खेलाडी हुन् । अफगानिस्तानका नजिबुल्लाह जड्रान विस्फोटक ब्याटिङका लागि चिनिन्छन् । उनी मैदानमा लामा लामा सट प्रहार गर्न सक्ने खेलाडीका रुपमा दर्शकमाझ परिचित छन् ।

भारतका प्रियाङ्क पञ्चाल पनि उत्कृष्ट ब्याटर हुन् । यस्तै भारतका जय किसन कोल्सावाला विकेटकिपर–ब्याटर हुन् । उनी विश्वसनीय इनिङ एङ्करका रुपमा चिनिन्छन् । यस्तै चितवन राइनोजमा अनुभवी अलराउन्डर खेलाडी समावेश छन् । चितवनमा इङ््ल्यान्डका रवि बोपारा अलराउन्डर र प्रभावकारी खेलाडी हुन् । यस्तै पाकिस्तानका सोहेल तन्विर पनि चितवनमै समावेश छन् । उनी फास्ट बलर हुन् । उनको बलमा ब्याटरहरुले सितिमिति रन बटुल्न सक्दैनन् । बङ्गलादेशका साइफ जाइब लराउन्डर हुन् ।

मध्य क्रममा खेल्ने उनी आफ्नो टोलीको पारीलाई लामो समय मैदानमा टिकाउन सक्ने क्षमता भएका खेलाडी हुन् । इङ्ल्यान्डका डेभिड मलान विश्श्व टी–२० क्रिकेटका शीर्ष स्थानका ब्याटर हुन् । यस्तै भारतका अल्पेस रम्जानी युवा स्पिनर हुन् । दुवै जना चितवनमा समावेश खेलाडी हुन् । चितवन बलिङ र ब्याटिङ दुवैमा सन्तुलित टोली हो । त्यसैले कर्णालीविरुद्धको अहिले भइरहेको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २ गते मंगलबार