कालिकोटको नरहरिनाथ गाउँपालिका–७, उच्छवस्थित श्री रुपादेवी माध्यमिक विद्यालयले गणित विषयका लागि संघीय अनुदानको शिक्षक पदमा जागिर खुलाएको १८ पटकसम्म पनि जनशक्ति पाउन नसकेको खुलेको छ ।
शिक्षकका लागि उपयुक्त उम्मेदवार खोज्दै विद्यालयले पुनः १९ औँ पटक विज्ञापन आह्वान गरेको छ । विद्यालय व्यवस्थापन समितिको कात्तिक ३० को निर्णय अनुसार गणित विषयका माध्यमिक तहका एक जना शिक्षक आवश्यक भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सात दिनभित्र आवेदन दिन आग्रह गरिएको हो ।
विद्यालयले यसअघि १८ पटक विज्ञापन गर्दा पनि आवश्यक योग्यता पुगेको उम्मेदवार नआएको जनाइएको छ । गणित विषयमा स्नातक वा सो सरह उत्तीर्ण तथा अध्यापन अनुमति पत्र भएको, १८ देखि ४० वर्ष उमेर दायरा पूरा गर्ने नेपाली नागरिकले आवेदन दिन पाउनेछन् ।
लिखित, मौखिक वा प्रयोगात्मक जाँचबाट छनोट प्रक्रिया सम्पन्न गर्ने विद्यालयले जनाएको छ । आवेदन शुल्क दुई हजार रूपैयाँ तोकिएको छ । विद्यालयका अनुसार शिक्षक सेवा आयोगको हालै प्रकाशित माध्यामिक तह अध्यापन अनुमति प्राप्त उम्मेदवारहरूको प्रमाणित पत्र पेश गर्नुपर्नेछ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनबहादुर विक र प्रधानाध्यापक दानबहादुर बुढाका अनुसार गणित विषयमा शिक्षक अभाव भएकाले विद्यार्थीको पठनपाठन प्रभावित हुन थालेपछि फेरि विज्ञापन निकाल्नु परेको हो ।

