प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआइजी ओम अधिकारीका अनुसार उनलाई भक्तपुरस्थित निवासबाट सोमबार मध्यरातमा पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको छ । ७ मंसिरदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका उनले हिंसा भड्काउन सक्ने आशंकाका साथ पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनीमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको हो । प्रसाईं विद्युतीय कारोबार ऐनअनुसार पनि पटकपटक पक्राउ परिसकेका व्यक्ति हुन् । आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने दुर्गा प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए ।
आन्दोलनको तयारीमा रहेका उनी पक्राउ परेका हुन् । प्रसाईंले देशै ठप्प पार्ने भन्दै उग्र अभिव्यक्ति दिइरहेकोमा सुरक्षा संयन्त्रले उनलाई ‘नोटिस’मा राखेको थियो । केही दिनअघि गृह मन्त्रालयमा प्रसाईं समूहका तर्फबाट २६ बुँदे माग पत्र लिएर माधव खतिवडा गृह मन्त्रालयमा वार्ताका लागिसमेत पुगेका थिए ।
सरकारले दुर्गा प्रसाईंसहित अराजक अभिव्यक्ति दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाउन सक्ने संकेत दिएको थियो । आइतबार गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा परिस्थिति भड्काउने गरी विभिन्न व्यक्तिबाट सार्वजनिक अभिव्यक्ति आउन थालेको भन्दै त्यसलाई नियन्त्रण गर्नेबारे छलफल भएको थियो ।
निर्वाचनको सुरक्षा तयारीबारे छलफल गर्न बोलाइएको बैठकमा सुरक्षा प्रमुखहरूले अराजक अभिव्यक्तिबारे पनि छलफल गर्नुपर्ने भन्दै प्रसंग निकालेका थिए । बैठकले हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको थियो । बैठकमा सहभागी स्रोतका अनुसार बैठकमा दुर्गा प्रसाईंको नामै लिएर छलफल भएको थियो ।
यसअघि १५ चैत २०८१ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए । प्रसाईं यसअघि दुई पटक साइबर कसुरसम्बन्धी र चैत १५, २०८१ को घटनाका मुख्य प्रतिवादी हुन् । उनी तीनै वटा मुद्दामा धरौटीमा छुटेका अभियुक्त हुन् ।
सत्यपाटी