२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

नवगठित नेकपा र रास्वपा निर्वाचन आयोगमा दर्ता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर १ गते सोमबार

नवगठित नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । नेता राजेन्द्र पाण्डेसहितको टोली २१ फागुनमा हुने निर्वाचनका लागि निर्वाचन आयोग पुगेर दल दर्ता गराएको हो ।

तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दल मिलेर १९ कात्तिकमा नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो । जसको चुनावचिह्न ‘पाँचकुने तारा’ राखिएको छ ।

पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सह–संयोजकमा माधवकुमार नेपाल छन् । आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि १ देखि १० मंसिरसम्म दल दर्ताको समय निर्धारण गरेको छ ।

रास्वपाले पनि गरायो दल दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । रास्वपाले सोमबार आयोगको कार्यालय कान्तिपथ पुगेर निर्वाचनका लागि औपचारिक रूपमा दल दर्ता गराएको हो ।

दल दर्ताका लागि रास्वपाका केन्द्रीय सदस्य तथा नेता–कार्यकर्ताहरु आयोगको कार्यालयमा पुगेका थिए । २०७९ सालको निर्वाचनअघि मात्रै गठन भएको रास्वपाले त्यतिबेला प्रतिनिधिसभामा २० सिट जितेर चौथो ठूलो दल बनेको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार