लुम्बिनी प्रदेशमा डेढ महिनाको अवधिमा ४५ हजारभन्दा बढी मतदाता थपिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा असोजको १२ गतेदेखि हालसम्म ४५ हजार ४८८ जना नयाँ मतदाता थपिएका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा १० हजार ५३७ जना मतदाता थपिएका छन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार रुपन्देहीमा पाँच हजार ९५६ पुरुष र चार हजार ५८१ जना महिला मतदाता रहेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार बाँके जिल्लामा नौ हजार ४७३ जना नयाँ मतदाता थपिएका छन् । सूचना अधिकारी कुँवरका अनुसार बाँकेबाट महिला र पुरुषको तथ्याङ्क अपडेट हुन सकेको छैन ।
सूचना अधिकारी कुँवरका अनुसार कपिलवस्तुमा पुरुष दुुई हजार ८७८ जना, महिला तीन हजार ५१ जना र एक जना अन्य गरेर पाँच हजार ९३० जना, दाङमा पुरुष दुई हजार ८४२ जना, महिला दुई हजार ८८ जना र दुई जना अन्य गरेर चार हजार ९३२ जना, नवलपरासी पश्चिममा पुरुष दुई हजार ७०३ जना, महिला दुई हजार २२४ जना र एक जना अन्य गरेर चार हजार ९२८ जना नयाँ मतदाता थपिएका छन् ।
सूचना अधिकारी कुँवरका अनुसार बर्दियामा एक हजार १३६ जना पुरुष र ९२६ जना महिला गरेर दुई हजार ५९ जना, गुल्मीमा पुरुष एक हजार ४५६ जना र महिला एक हजार २५ जना गरेर जम्मा दुई हजार ४८१ जना, अर्घाखाँचीमा पुरुष एक हजार ६२ जना र महिला ६१९ जना गरेर एक हजार ६८१ जना, पाल्पामा पुरुष ६७० जना र महिला ९१५ जना गरेर एक हजार ५८५ जना नयाँ मतदाता थपिएका छन् ।
त्यसैगरी, रोल्पामा पुरुष ३७३ जना र महिला २७३ जना गरेर जम्मा ६४६ जना, रुकुम पूर्वमा पुरुष १६२ जना र महिला १२८ जना गरी जम्मा २९० जना नयाँ मतदाता शनिबारसम्म थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले जानकारी दिए । मतदाता नामावली दर्ताको काम निरन्तर भइरहेकाले नयाँ मतदाताको तथ्याङ्क बढ्ने अनुमान छ ।
सूचना अधिकारी कुँवरले भने, ‘प्रदेशभर निरन्तर मतदाता नामावली सङ्कलनको काम भइरहेको छ, त्यो तथ्याङ्क अपडेट भइनसकेकाले आजसम्मको तथ्याङ्कन भन्न सक्ने अवस्था छैन ।’ उनका अनुसार प्रत्येक दिन बिहान ८ देखि साँझ ६ बजेसम्म मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको छ । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने कार्य मङ्सिर ५ गतेम्म सञ्चालन हुनेछ ।
सत्यपाटी