बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ । न्यायाधिकरण अदालतले मानवताविरुद्धको अपराधको मुद्दामा प्रस्तुत सबै प्रमाण ‘वास्तविक देखिने’ भनेको छ ।
समाचार संस्था रोयटर्सका अनुसार, सोमबार हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । बंगलादेशमा गतवर्ष विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शनमा हिंसात्मक दमन गराएको उनीमाथि आरोप थियो ।
उक्त आन्दोलनमा करिब एक हजार ४०० मानिस मारिएका थिए । अदालतले प्रमाणका रूपमा प्रस्तुत भिडियो, तस्बिर र अडियोहरूलाई परिवर्तन नगरिएको वा एआईद्वारा नबनाइएको स्पष्ट पारेको छ । ७८ वर्षीया हसिनामाथि पाँच आरोप लगाइएको थियो ।
उनीमाथि विद्यार्थी आन्दोलनका क्रममा ढाकामा ठूलो संख्यामा प्रदर्शनकारीको सामूहिक हत्या गराएको, भीडमाथि गोली चलाउन हेलिकोप्टर र ड्रोनको प्रयोग गर्न आदेश दिएको, एक विद्यार्थी कार्यकर्ताको हत्या गरेको, प्रमाण नष्ट गर्ने उद्देश्यले शवहरू जलाएको वा नष्ट गरेको जस्ता मानवताविरुद्धको अपराधको आरोप गाइएको थियो ।
हसिनाको फैसलालाई लिएर देशभर हिंसा जारी छ । सरकारले उच्च सतर्कता (हाई अलर्ट) घोषणा गरेको छ । ढाकामा १५ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । उनीहरूलाई हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश दिइएको छ । फैसलापछि हिंसा अझ बढ्ने आशंकालाई ध्यानमा राख्दै देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सत्यपाटी