२०८३ असोज २५ , आइतबार 11, October 2026, Sunday

तीन सन्तान छोडेर आमा वडा सदस्यसँग हिँडेपछि…

हजुरआमा घुनिया देवीसँग उभिएका नातीहरू ।

रौतहटमा एक वडा सदस्यले तीन सन्तानकी आमालाई भगाएपछि बालबच्चा टुहुरा भएका छन् । कटहरिया नगरपालिकाका एक वडा सदस्यले स्थानीय दलित विवाहित महिलालाई भगाएको घटनाले नैतिकताको कुरा उठेको हो । कटहरिया–१ का नेपाली कांग्रेसबाट विजयी वडा सदस्य सतलाल दासले तीन छोराकी आमालाई ललाइफकाई भगाएको आरोप पीडित परिवारले लगाएको हो ।

विदेशमा रहेका महिलाका श्रीमान्ले मलेसियाबाट पठाएको १२ लाख रुपैयाँ नगद, ३ लाख बराबरका गरगहना र झण्डै १५ लाख बराबरको सम्पत्ति लिएर दासले महिलालाई भगाएको पीडित पक्षको दाबी छ । पाँच वर्षदेखि विदेशमा रहेको छोराले पठाएको सबै पैसा र गरगहना लिएर वडा सदस्यले बुहारीलाई भगाएको महिलाकी सासू घुनिया देवीले बताइन् ।

‘बारा, निजगढको एक कोठामा लुकाएर राखेको अवस्थामा प्रमाणसहित भेट्यौँ,’ उनले दुखेसो सुनाइन् । उनका अनुसार बुहारीको नाममा रहेको पाँच कठ्ठा जग्गा बैंकमा धितो राखेर दासले पैसा निकालेका छन् । बारा प्रहरीले पक्राउ गरी दुवैलाई जिल्ला प्रहरी कार्यालय गौर ल्याएर छलफल शुरु गरेको थियो ।

छलफलकै क्रममा कटहरिया नगरप्रमुख अजयप्रकाश जैसवालले उल्टै पीडित परिवारलाई ‘सम्पत्ति आधी–आधी गर्ने’ प्रस्ताव गरेको आरोप सासू घुनिया देवीले लगाइन् । ‘दोषीलाई कारबाही गर्नु त परै जाओस्, मेयरले त उल्टै भागबण्डा गराएर अपराधी बचाउने खेलमा लागेको छ,’ उनले भनिन् ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले यसबारे जानकारी दिँदै लिएको रकम, गहना र बैंकबाट निकालिएको रकमसम्बन्धी सबै प्रमाणसहित उजुरी दर्ता गर्न निर्देशन दिएको बताए । त्यसैबीच मेयर जैसवालले दासलाई जिम्मा जमानतमा लिएर आफ्नो गाडीमै लगेको आरोप पीडित पक्षले लगाएको छ । प्रहरीका अनुसार प्रमाण पुष्टि भए दासले सम्पूर्ण रकम फिर्ता गर्नैपर्ने हुन्छ ।

वडा–१ का अध्यक्ष भूपेन्द्र कुशवाहले घटनाबारे प्रतिक्रिया जनाउँदै भने, ‘तीन छोराकी आमा भगाएर दासले जघन्य अपराध गरेको हो । त्योभन्दा ठूलो अपराध मेयरले गरे ।’ मेयर जयसवाल पार्टीको नाममा अपराधी जोगाउने खेल खेलिरहेको उनले आरोप समेत लगाइन् । यो घटनाले कटहरिया नगरभित्र जनप्रतिनिधिको चरित्र तथा नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

पीडित महिलाका तीनजना छोराहरू, बुढी सासू तथा परिवार अहिले बिचल्लीमा परेको छ । ‘न्याय माग्दै गाउँनगर धायौँ, उल्टै अभियुक्तलाई मेयरले नै बचाएपछि हामी कहाँ जाऊँ ?’ सासू घुनिया देवीले भनिन् । मेयर जैसवालले आफूले दोषीलाई बचाएको आरोप अस्वीकार गर्दै छलफलमा मात्र सहभागी भएको दाबी गरे । उनले घटनालाई निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरिएको बताए ।

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार