२०८२ कात्तिक २९ , शनिबार 15, November 2025, Saturday

बाँकेमा शनिबार पनि राष्ट्रिय परिचयपत्र बनाउनेको भीड

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २९ गते शनिबार

मतदाता नामावलीमा नाम दर्ता गराउने समय दुई दिन मात्र बाँकी रहेकाले जिल्ला प्रशासन कार्यालय बाँकेले कात्तिक २९ गते शनिबार पनि राष्ट्रिय परिचयपत्र बनाउने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले शनिबार पनि राष्ट्रिय परिचयपत्र बनाउन थालेपछि सेवाग्राहीको भीड लागेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार एक सूचना प्रकाशित गरेर मतदाता नामावलीमा राष्ट्रिय परिचयपत्रको नम्बरका आधारमा समेत मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था गरिएकोले शनिबार बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र बनाउने सेवा प्रदान गरिने जनाएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले कात्तिक मसान्तसम्म मात्रै मतदाता नामावलीमा नाम दर्ता गराउने समय रहेको तथा अन्तिम समयमा आएर नाम दर्ता गराउन चाहनेहरु बढेको देखिएको जनाए ।

उनले बढीभन्दा बढीले नाम दर्ता गराउन सकुन भन्ने उद्देश्यले बिदाका दिन शनिबार पनि राष्ट्रिय परिचयपत्रका कामलाई जारी राखिने बताए । उनले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने वा अन्य कुनै आवश्यक कामका लागि परिचयपत्र बनाउन चाहने जिल्लावासीले शनिबार पनि आएर सेवा लिन सक्ने हुँदा सेवा लिन सबैलाई आग्रह गरेका छन् ।

पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय बाँकेमा परिचयपत्र बनाउन आउनेहरुको सङ्ख्या अत्यधिक देखिएकाले बिहानबाट अबेरसम्म पनि परिचयपत्रको काम गर्ने गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनकरले बताए । गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएको जिल्ला प्रशासन कार्यालयका सेवा सुविधालाई क्रमशः सुचारु गर्दै लगिएको जनाइएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २९ गते शनिबार