२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

तीन महिनामा घोराही सिमेन्टलाई १२ करोड ८० लाख घाटा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २८ गते शुक्रबार

घोराही सिमेन्टले नोक्सानी उल्लेख्य घटाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार पहिलो त्रैमासमा कम्पनीको नोक्सानी १२ करोड ८० लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको नोक्सानी ५१ करोड ३७ लाख रुपैयाँ थियो । बिक्री आम्दानी बढ्दा नोक्सानी उल्लेख्य घटेको हो । पहिलो त्रैमासमा कम्पनीको बिक्री आम्दानी ९० करोड ६० लाख रुपैयाँ छ ।

गत वर्षको यसै अवधिमा यस्तो आम्दानी ६६ करोड ८४ लाख रुपैयाँ थियो । चार अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित आम्दानी १ अर्ब २८ करोड रुपैयाँ छ । कम्पनी नोक्सानमा रहेसँगै प्रतिसेयर आम्दानी २.८० रुपैयाँ ऋणात्मक छ ।

त्यस्तै प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ३८ पैसा छ । बिहीबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ४२५.५० रुपैयाँ छ । कम्पनीले यसअघि भएको जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिले व्यापार व्यवसायमा गम्भीर प्रभाव पारेको उल्लेख गरेको छ ।

त्यस्तै डेडिकेटेड तथा ट्रंकलाइन सम्बन्धी विवाद कायम रहेका बेला असोज २८ गते विद्युत् प्राधिकरणले वक्यौता रकम तिर्न भनेर पत्र पठाएको स्पष्ट पारेको छ । प्राधिकरणको पत्रले थप दायित्व सिर्जना हुन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार