२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

महिला टी-२० विश्वकप : नेपालको विजयी सुरुवात

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २७ गते बिहीबार

नेपालले बुधबार श्रीलङ्कालाई नौ विकेटले हराएर प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । भारतको नयाँ दिल्लीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८७ रनको स्कोर तयार पारेको थियो ।

नेपालले ५.२ ओभरमै एक विकेटको क्षतिमा ८८ रन बनाएर लक्ष्य हासिल गर्यो । नेपालकी मनकेसी चौधरीले २२ बलमा ११ चौकासहित अविजित ६१ रन बनाएपछि नेपालको जित सहज बनेको हो । सुषमा तामाङ चार रनमा अविजित रहिन् । नेपालको पालिमा आउट हुने एक मात्र ब्याटर विनिता पुन भइन् ।

उनले आठ बलमा दुई चौका प्रहार गरेर १३ रन बनाइन् । श्रीलङ्काका लागि सन्दाया निलन्थीले विनितालाई बोल्ड गरिन् । यसअघि कान्ति योगीले तीन विकेट लिएर श्रीलङ्काको पालि कमजोर बनाएकी थिइन् । नेपालकी विनिता र लक्ष्मी लामाले पनि एक–एक विकेट लिए । श्रीलङ्काका लागि कप्तान तथा विकेटकिपर ब्याटर मिहिरानी डुलान्जलीले २९ बलमा दुई चौकासहित सर्वाधिक २३ रन बनाइन् ।

श्रीलङ्काका तीन ब्याटर शून्यमा आउट भए । खेलमा नेपालकी ब्याटर मनकेसी सर्वश्रेष्ठ खेलाडी चुनिइन् । नेपालले दोस्रो खेलमा शुक्रबार भारतसँग खेल्ने छ । भारतले पनि पहिलो खेलमा श्रीलङ्कालाई सजिलै १० विकेटले हराएको थियो । यस प्रतियोगितामा आयोजक भारत, नेपाल र श्रीलङ्काबाहेक अस्ट्रेलिया, अमेरिका, पाकिस्तान र इङ्ग्ल्यान्डले पनि भाग लिएका छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक २७ गते बिहीबार