बढी मात्रामा कृषि पेसा लिएका र निरक्षर अभिभावकहरूका छोराछोरीले लोकसेवा आयोगको परीक्षामा पास भएको पाइएको छ ।
आयोगले सार्वजनिक गरेको ६६ औँ (२०८१ साउनदेखि २०८२ असारसम्मको) वार्षिक प्रतिवेदनमा परीक्षा पास गरेर सिफारिस भएका उम्मदेवारहरूको आमा ३३ प्रतिशत निरक्षर र बुबा १६ प्रतिशत निरक्षर रहेको उल्लेख छ ।
सिफारिस भएका ४१ प्रतिशत उम्मेदवारका बुबा प्राथमिक शिक्षा पढेका र सिफारिस भएका उम्मेदवारका ४८ प्रतिशत आमा प्राथमिक शिक्षा पढेको उल्लेख छ । उच्च शिक्षा पढेकाहरूको हकमा कम छ ।
सिफारिस भएका उम्मेदवारहरूको उच्च शिक्षा पढेका २० प्रतिशत बुबा र १६ प्रतिशत उच्च शिक्षा पढेका आमा रहेको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी कृषि पेसा अंगालेका अभिभावकहरूको छोराछोरीले लोकसेवा आयोगको परीक्षा पास गरेर सिफारिस भएका छन् ।
उम्मेदवारले अनलाइन दरखास्त प्रणालीमा उल्लेख गरे अनुसार सिफारिस भएका ६७.१७ प्रतिशत उम्मेदवारका अभिभावकको मुख्य पेशा कृषि रहेको देखिएको छ । सरकारी सेवामा रहेकाको हकमा १७ प्रतिशतमात्रै रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार सिफारिस भएका उम्मेदवारको अभिभावकको पेशामा व्यापारमा करिब ९ प्रतिशत, श्रममा करिब ३, शिक्षणमा २.३१ र व्यवसायमा ०.८५ प्रतिशत रहेको छ ।
