२०८३ जेठ ३० , शनिबार 14, June 2026, Sunday

प्रकृति संरक्षणका लागि सचेतना जगाउँदै नेपाली सेना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २६ गते बुधबार

नेपाली सेनाले प्रकृति संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण लगायत विषयमा दुई सय भन्दा बढी विद्यार्थी र स्थानीयमाझ सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाका युनिटले विभिन्न स्थानमा उनीहरुलाई संरक्षण शिक्षा लगायत जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंहदल गणले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ स्थित श्री शङ्कर पार्वती माविका शिक्षक तथा शिक्षार्थीलाई ‘मानव वन्यजन्तु द्वन्द्वको कारण र न्यूनीकरणको उपाय’ सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्तै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गणले चितवनको माडी नगरपालिका–९ स्थित श्रीकृष्ण नगर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई संरक्षणको महत्व, निकुञ्ज सुरक्षामा नेपाली सेनाको भूमिका, जङ्गली जनावरको आनीबानी तथा सेनामा भर्ना छनोट प्रक्रिया लगायत विविध विषयमा जानकारी गराएको सेनाले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ जबरजङ्ग गणले निकुञ्ज कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजना तथा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सहकार्यमा मधुवन नगरपालिका–१ स्थिति त्रिभुवन माध्यमिक विद्यालयमा स्थानीयलाई सहभागी गराई प्रकृति संरक्षण तथा सामाजिक सुरक्षा कार्यमा समुदायको भूमिकाबारे सचेनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।

हाल सेनाका आठ गण, सात वटा अनाश्रित गुल्म र एक शिक्षालय गरी करिब नौ हजार फौज १४ संरक्षित क्षेत्रमा परिचालित रहँदै आएको छ । संरक्षणमा खटिने क्रममा हालसम्म सेनाका ११६ जना सकलदर्जाले वीरगति प्राप्त गरेका निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २६ गते बुधबार