आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बाँकेमा मतदाता नाम दर्ता गराउनेको भीड तीव्र रूपमा बढिरहेको छ । जिल्लास्थित निर्वाचन कार्यालयहरूमा दैनिकजसो नयाँ मतदाता बन्नका लागि लाइन लाग्ने गरेका छन् । जसमा अधिकांश नयाँ पुस्ताका युवा रहेका छन् ।
बाँकेका नयाँपुस्ताका युवाले लोकतान्त्रिक अभ्यासमा आमनागरिकको सहभागिता बढाउन निःशुल्क मतदाता फाराम भरिदिने अभियान सुरु गरेका छन् । नेपालगन्जका युवा सागर आचार्यको नेतृत्वमा सुरु गरिएको यो अभियानमा प्रविधिमा निपूर्ण युवाले मतदाता हुन चाहनेको फाराम भर्ने, अनलाइन दर्ता गर्ने र त्रुटि सच्याउने काममा सहयोग गर्दै आएका छन् ।
आचार्यका अनुसार सो समूहले हालसम्म ३७३ जनाको मतदाता फाराम निःशुल्क भरिदिएको छ र ५०० जनाको लक्ष्य राखिएको छ । उनले भने, ‘लोकतन्त्रमा हरेक मतको मूल्य हुन्छ, कुनै पनि नागरिक आफ्नो अधिकारबाट वञ्चित नहोस् भन्ने हाम्रो उद्देश्य हो ।’
निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार हालसम्म बाँकेमा पाँच हजार २२९ जना नयाँ मतदाता थपिएका छन् । बाँकेमा हाल तीन लाख ३३ हजार ९३४ मतदाता दर्ता भएका छन् । जसमा एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य मतदाता छन् ।
जिल्ला निर्वाचनका अनुसार तीमध्ये करिब ८० प्रतिशत युवापुस्ता रहेका उनले बताए । उनका अनुसार विदेशबाट फर्किएका युवाले ठुलो सङ्ख्यामा नाम दर्ता गराइरहेका छन् । नाम दर्ता गराउनेको भिडका कारण कयौँ दिन त सर्भर डाउन हुने समस्या देखिएको छ । जसले सेवाग्राहीलाई सास्ती भएको छ ।
राष्ट्रिय परिचयपत्र नभई नागरिकताको प्रमाणपत्रका आधारमा मात्रै नाम दर्ता गर्न पाउने प्रावधानका कारण कतिपय सेवाग्राही फर्किन बाध्य भएका छन् । निर्वाचन कार्यालयले बाँकी दिनमा भीड अझ बढ्ने अनुमान गर्दै सेवाको सहजता र व्यवस्थापनमा ध्यान दिइरहेका छन् । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म नयाँ मतदाता नाम दर्ता गर्ने म्याद तोकेको छ ।
