२०८३ असोज २३ , शुक्रबार 10, October 2026, Saturday

घोराही-तुलसीपुर चारलेन सडक, सकियो सर्वे

घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि सर्वेको काम पूरा भएको छ । गएको २४ असारमा श्री दिवा–बन्दन भगवती जेभीसँग सम्झौता भएर सोही कम्पनीले सम्पूर्ण कागजी काम सकेको कार्यालय प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए ।

उनका अनुसार संयुक्त सर्वेक्षण, सूची सर्वेक्षण लगायतका काम सकिएको छ । कागजी काम सकिएसँगै अब भौतिक काम सुरु हुने प्रमुख विष्टले बताए । भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा उक्त सडक चारलेनको काम हुन लागेको हो । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म चारलेन हुने छ ।

सडक २१ किलोमिटर ५८ मिटर रहेको छ । कालोपत्रको चौडाइ चारलेनको हुने छभने बीचमा बीचमा मेडिएन र दुवैतर्फ दुई–दुई लेनको सडक हुनेछ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुनेछ । त्यसमा ढुङ्गा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्र गरिनेछ ।

यसले सडकलाई थप मजबुत बनाउने जनाइएको छ । सम्झौता भएको मितिले ३६ महिनामा काम सक्ने गरी सम्झौता भएको प्रमुख विष्टले बताए । उनका अनुसार उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चारलेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ ।

सोही सडक चारलेन बनाउनका लागि यसअघिको निर्माण कम्पनीले कम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्द भएपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको थियो । तत्कालिन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको निर्णय अनुसार रु तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक २४ गते सोमबार