मिर्गौलाले हाम्रो शरीरलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसले रगतलाई फिल्टर गर्छ, शरीरबाट फोहोर र विषाक्त पदार्थहरू हटाउँछ । तर, जब मिर्गौलाले राम्ररी काम गर्न छोड्छ, यसका लक्षणहरू हात र खुट्टामा मात्र होइन, आँखामा पनि देखा पर्न थाल्छन् । कतिपय अवस्थामा, यी लक्षणहरू सामान्य भनी बेवास्ता गर्न सकिने खालका हुन्छन् ।
मानिसहरूले यसलाई केवल थकान वा निद्राको कमीका कारण देखिएको हो भन्ने सोच्छन् । तर यस्तो लापरबाही निकै खतरनाक हुन सक्छ । यस्ता लक्षणलाई बेवास्ता गर्दा मिर्गौला पूर्ण रूपमा फेल हुन सक्ने खतरा रहन्छ । यसै सन्दर्भमा, मिर्गौलामा खराबी आउँदा आँखामा देखिने प्रमुख चार लक्षणहरूबारे चर्चा गरौँ ।
१. आँखा वरिपरि सुन्निने
आँखा मुनि वा आँखाको ढकनी सुन्निनु मिर्गौला क्षतिको सबैभन्दा सामान्य र महत्त्वपूर्ण सङ्केत हो । स्वस्थ मिर्गौलाले रगतमा प्रोटिन (विशेष गरी एल्बुमिन) लाई भण्डारण गरेर राख्छ । मिर्गौलामा समस्या आउँदा, यो प्रोटिन पिसाबमार्फत शरीरबाट बाहिर जान्छ ।
रगतमा प्रोटिनको कमीका कारण रक्तनलीहरूबाट तरल पदार्थ चुहिन थाल्छ र तन्तुहरूमा जम्मा हुन्छ । आँखा वरिपरिको छाला पातलो र संवेदनशील हुने भएकाले, मिर्गौलाको समस्याको पहिलो सङ्केत यही सुन्निएको अवस्थाबाट देखिन्छ । यदि तपाईंले यस्ता संकेतहरू देख्नुभयो भने, तुरुन्तै डाक्टरसँग परामर्श लिनु उपयुक्त हुन्छ ।
२. आँखा रातो हुने र चिलाउने
यदि तपाईंको आँखा लगातार चिलाइरहेको छ वा रातोपन अनुभव गर्नुभएको छ भने, यो पनि मिर्गौला बिग्रिएको सङ्केत हुन सक्छ । मिर्गौला फेल हुँदा रगतमा विषाक्त पदार्थ र युरियाको मात्रा बढ्छ । यो बढेको युरिया आँखासहित सम्पूर्ण शरीरमा जम्मा हुन्छ, जसले गर्दा तीव्र चिलाउने समस्या हुन्छ । यो अवस्थालाई चिकित्सकीय भाषामा ‘युरेमिक प्रुरिटस’ (ग्चझष्अ एचगचष्तगक) भनिन्छ ।
३. दृष्टि धमिलो हुने
यदि तपाईंको दृष्टि अचानक धमिलो भएको छ भने, यो उच्च रक्तचापको कारणले हुन सक्छ, जुन मिर्गौलाको क्षतिसँग नजिकबाट जोडिएको छ । मिर्गौलाको खराबीले प्रायः उच्च रक्तचापको समस्या निम्त्याउँछ वा पहिलेदेखि भएको अवस्थालाई झन् बिगार्न सक्छ । उच्च रक्तचापले आँखाको पछाडिको नाजुक रक्तनलीहरूलाई क्षति पुर्याउँछ, जसले ‘रेटिनोप्याथी’ भनिने समस्या निम्त्याउन सक्छ ।
४. आँखाबाट रक्तश्राव
आँखामा रगत देखिनु मिर्गौला रोगको गम्भीर सङ्केत हो र यसलाई तुरुन्तै चिकित्सकीय ध्यान आवश्यक पर्दछ । मिर्गौला फेल हुँदा हुने उच्च रक्तचापले आँखाका साना रक्तनलीहरू च्यात्न सक्छ । यसकारण आँखामा रातो दागहरू देखिन सक्छन् वा आँखाको सेतो भागमा रगत जमेको देखिन सक्छ ।
