२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

रवि छुटेपछि मात्रै रास्वपाको महाधिवेशन, पार्टीभित्र तीव्र असन्तुष्टि

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २३ गते आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फेरि एकपटक महाधिवेशनको मिति सार्दै चुनावपछि मात्रै गर्ने घोषणा गरेको छ । पार्टीको विस्तारित बैठकले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ६ महिनापछि मात्र महाधिवेशन गर्ने निर्णय गर्दै, सभापति रवि लामिछानेमाथिको मुद्दा राजनीतिक प्रतिशोधको परिणाम भएको भन्दै सरकारमाथि तीव्र आरोप लगाएको छ ।

विश्लेषकहरूका अनुसार, रास्वपाले महाधिवेशनलाई लामो समयदेखि टार्दै आएको र रवि लामिछाने ‘नछुट्दासम्म पार्टी नेतृत्व नयाँ दिशामा नजाने’ स्पष्ट सन्देश दिएको देखिन्छ । रास्वपाको विज्ञप्ति अनुसार, ‘रवि लामिछानेमाथि लगाइएको मुद्दा एक नियोजित र बदनियतपूर्ण कदम हो जसले लोकतान्त्रिक अभ्यासमाथि प्रहार गरेको छ ।’

पार्टीले सरकारलाई ‘शक्तिको दुरुपयोग गर्दै विपक्षी विचार दमन गर्न खोजेको’ आरोप पनि लगाएको छ । पार्टीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘रवि लामिछानेमाथि लगाइएको मुद्दा राजनीतिक प्रतिशोधको परिणाम स्वरूप दायर गरिएको हो । यसले जनताको म्यान्डेटमाथि प्रत्यक्ष प्रहार गरेको छ ।’

रास्वपाले देशभर सञ्चालन गरेको हस्ताक्षर अभियानमार्फत ४० लाखभन्दा बढी नागरिकले लामिछानेमाथिको मुद्दा अन्यायपूर्ण भएको भन्दै ऐक्यबद्धता जनाएका छन् । बैठकले अहिलेका लागि नयाँ नेतृत्व नतोल्ने निष्कर्ष पनि निकालेको छ । पार्टी नेतृत्वको निर्णयले स्पष्ट संकेत दिएको छ, रवि लामिछाने स्वतन्त्र नहुँदासम्म रास्वपाको महाधिवेशन हुनेछैन ।

रास्वपा पुनःगठन गर्न तोसिमाको चारबुँदे प्रस्ताव

यता रास्वपाकी केन्द्रीय सदस्य डा.तोसिमा कार्कीले पार्टी पुनःगठन गर्न मंसिरमै महाधिवेशन गर्नुपर्ने लिखित सुझावसहित ‘चार बुँदे मार्गचित्र’ प्रस्तुत गरेकी छन् । उनले भनिन्, ‘महाधिवेशन भनेको पार्टीको अक्सिजन हो, त्यसलाई लगातार सार्न मिल्दैन ।’ उनले पार्टीलाई नयाँ राजनीतिक परिस्थितिअनुसार रूपान्तरण गर्नुपर्ने भन्दै स्पष्ट प्रस्ताव अघि सारेकी हुन् ।

‘जेनजी आन्दोलनपछि नेपाल पुरानै अवस्थामै रहन सक्दैन । त्यो आन्दोलनले सबै क्षेत्रमा आमूल सुधारको माग गरेको छ, त्यसैले राजनीतिक दलहरूले पनि सुधारको बाटो समात्नैपर्छ,’ उनले लेखेकी छन्, ‘महाधिवेशन भनेको पार्टीको अक्सिजन हो । राष्ट्रिय स्वतन्त्र पार्टीले २०८२ मंसिरमै महाधिवेशन सम्पन्न गर्नुपर्छ । यसले संगठन विस्तार, वैचारिक स्पष्टता र नयाँ ऊर्जा थप्नेछ, जसले आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउनेछ ।’

उनले एक वर्षअघि भएको राष्ट्रिय भेलाबाट सभापतिमार्फत वर्तमान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति घोषणा गरिएको स्मरण गराउँदै भनिन्, ‘त्यसपछि पनि सचिवालय र पदाधिकारी कायम रहनु र त्यसको विस्तार हुनुको आधार स्पष्ट छैन । महाधिवेशनको तयारीका लागि अहिलेको कार्यकारी नेतृत्व र सचिवालय भंग गरी केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्छ । उक्त समितिमा जेनजी, वैकल्पिक शक्ति र बौद्धिक वर्गका प्रतिनिधिहरूलाई पनि समावेश गर्न आवश्यक छ ।’

त्यस्तै, उनले विचार मिल्ने विभिन्न राजनीतिक दलहरूसँग ‘घण्टी’ चुनाव चिन्ह साझा गरेर एकता प्रक्रिया अघि बढाउन सुझाव दिएकी छन् । ‘रास्वपाले साना वा ठूला सबै दलप्रति उदार दृष्टिकोण राख्दै एकता प्रक्रियामा स्वागत गर्नुपर्छ,’ उनले भनेकी छन्, ‘रास्वपाले अब राष्ट्र निर्माणको वैचारिक नेतृत्व ग्रहण गर्नुपर्छ । देशमा दशकौँदेखि वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणले मात्र प्रभुत्व जमाएको छ । कम्युनिज्म, समाजवाद र सोसल डेमोक्रेसीका नारामार्फत गैरचरित्रिक शासन चलाइँदै आएको छ ।’

प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार