काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा आर्थिक लेनदेन र बिचौलियाको सक्रियता बढेको गुनासो आएपछि परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई गोप्य निगरानी गर्न आग्रह गरेको छ । मन्त्रालयले गृह मन्त्रालयलाई पत्र पठाउँदै नेपाल प्रहरीलगायत सम्बन्धित निकायमार्फत विभाग परिसरमा गोप्य अनुगमन र आवश्यक परे छापा मार्न निर्देशन दिन अनुरोध गरेको हो ।
परराष्ट्रले पठाएको पत्रमा भनिएको छ, ‘नेपाल प्रहरी लगायत सम्बन्धित निकायबाट गोप्य रूपमा विभाग परिसरको निगरानी गराउनुका साथै आवश्यकता अनुसार छापासमेत मारी यस प्रकारका अनुचित कार्यलाई निरुत्साहित गर्दै राहदानी वितरण सम्बन्धी सेवा प्रवाहलाई थप सरल, सहज र विश्वसनीय बनाउन सहयोग पुर्याइयोस् ।’
हालै राहदानी सेवा लिन आउने नागरिकहरूले बिचौलियामार्फत ‘भित्रका कर्मचारीसँग चिनजान भएकाले छिटो पासपोर्ट बनाउन सकिन्छ’ भन्ने प्रलोभनमा परेर रकम तिर्नुपरेको उजुरी परराष्ट्र मन्त्रालयसम्म पुगेको थियो । सो गुनासोपछि मन्त्रालयले तत्काल कारबाहीका लागि कदम चालेको हो । पत्रमा शाखा अधिकृत कपिलमणि घिमिरेको हस्ताक्षर रहेको छ ।
उनले राहदानी सेवामा देखिएका अनियमितता रोक्न गोप्य अनुगमन र निगरानीलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । स्रोतका अनुसार, राहदानी विभागमा दैनिक हजारौँ नागरिक सेवाका लागि पुग्छन्, तर बिचौलिया र पहुँचका नाममा हुने गैरकानुनी लेनदेनले सेवाको विश्वसनीयता कमजोर बनाएको गुनासो बढ्दो छ । मन्त्रालयले यसपटकको निगरानी अभियानलाई स्थायी सुधारतर्फको कदमका रूपमा लिएको जनाएको छ ।
