पार्टी एकताको विरोधमा रहेका पूर्व माओवादी नेता जनार्दन शर्माले कर्णाली प्रदेशका आफ्ना समर्थक जनप्रतिनिधिलाई तत्काल कुनै पक्ष नखुल्न निर्देशन दिएका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहितका १० दलबीचको एकतापछि जनार्दन पक्ष असन्तुष्ट बनेको छ ।
कर्णालीका केही सांसद एकता सम्मेलनमा पद जोगाउन सहभागी भए पनि उनीहरू मूलतः जनार्दन निकट मानिन्छन् । पूर्वमुख्यमन्त्री तथा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा न एकता सम्मेलनमा देखिए न जनार्दनले घोषणा गरेको ‘प्रगतिशील अभियान’मा । उनीमाथि दुवै पक्षलाई सन्तुलनमा राख्ने चलाखी गरेको आरोप लागेको छ ।
जनार्दन निकट जनप्रतिनिधिहरूले भने आफूहरू जनताद्वारा निर्वाचित भएकाले अहिले कुनै राजनीतिक गतिविधिमा नजाने बताउँदै पार्टी होइन, जनताको काममै केन्द्रित हुने प्रतिक्रिया दिएका छन् । कर्णालीमा माओवादी केन्द्रका १३ सांसदमध्ये अधिकांश जनार्दन निकट थिए ।
पछिल्ला दिनमा केही सांसद एकताको पक्षमा उभिएका छन् भने अन्यले छलफलमा रहेको भन्दै मौनता अपनाएका छन् । संस्थापन पक्षले भने पार्टी एकताको विरोध गर्नेहरूलाई आवश्यक कारबाहीको चेतावनी दिएको छ । जनार्दन पक्षका जनप्रतिनिधिहरू भने न एकीकृत पार्टीको आदेश मान्ने, न खुलेर विरोध गर्ने रणनीतिमा छन् ।
