नेपाल र चीनको सिमाना नाम्खा गाउँपालिका–५ को हिल्सा क्षेत्रको तापक्रम माइनस आठ डिग्री सेल्सियस पुगेको छ । केहीदिन अगाडि नारा क्षेत्रमा भएको हिमपातपछि हिल्सा क्षेत्रको चिसो अत्याधिक बढेको हो ।
यसवर्ष हिउ नपर्दै नेपाली भूमि हिल्सा र किट क्षेत्रमा दिउँसै तापक्रम माइनस आठ डिग्री सेल्सियस पुगेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । एक हप्ता अगाडिसम्म हिल्साको तापक्रम सुन्ने डिग्री सेल्सियस रहेकोमा हाल ह्वात्तै वृद्धि भएर आठ डिग्री सेल्सियस पुगेको उनले बताए ।
साथै बिहान र रातिको समयमा माइनस तापक्रम बढ्दै जानेको उनको भनाइ छ । गतवर्ष हिमपात नहुँदासम्म हिल्साको तापक्रम शून्य वा एक दुई डिग्री सेल्सियस रहने र हिमपातपछि मात्र माइनस पुगेको उनले बताए । तापक्रम माइनसमा झरेपछि खानेपानीका धारामा पानी जम्न थालेको छ ।
त्यहाँ अधिकांश समय आगो तापेर घरभित्रै बस्नुपर्ने अवस्था रहेको स्थानीय कर्मा लामाले बताए । हिउ नपर्दै यतिधेरै जाडो बढेको र हिउँ परेपछि अझै जाडो वृद्धि हुने उनको भनाइ छ । हिल्सामा यारी नाका भन्सार, अध्यागमन, जनपद प्रहरीको सिमा प्रहरी चौकी, सशस्त्र प्रहरीको सिमा सुरक्षा चौकी, होटल व्यवसायी र स्थानीय हाल घरभित्र बस्दै आएका छन् ।
चिसो बढेपनि हिल्सा नाकाबाट चीनको ताक्लाकोट आउजाउ भइरहेको छ भने चार हजार ६७० मिटर उचाईको नारा लेकको सडक पनि सुचारु रहेको छ । हिमपातको समयमा हिल्सामा तापक्रम माइनस २१ डिग्री सेल्सियससम्म झर्ने गरेको छ ।
सत्यपाटी