अष्ट्रेलियाको राष्ट्रिय विमानसेवा क्वाण्टासले आफ्नो महत्वाकांक्षी योजना ‘प्रोजेक्ट सनराइज’ अन्तरगतको पहिलो विमानले फ्रान्सको टुलुजस्थित एयरबस निर्माण केन्द्रमा प्रमुख उत्पादन चरणहरू पूरा गरेको घोषणा गरेको छ ।
लामो दूरीको हवाई यात्राको ‘अन्तिम सिमाना’ मानिएको यस उडानको प्रगतिबारे जानकारी दिँदै क्वाण्टासले ए३५०–१०००युआरएल (अल्ट्रा लङ्ग रेन्ज) विमानको पहिलो तस्विरहरू सार्वजनिक गरेको छ । यो लगभग तयार भएको विमानले अष्ट्रेलिया–लन्डन–न्यूयोर्क रुटमा २२ घण्टासम्म सिधा उडान गर्ने तालिका छ ।
‘प्रोजेक्ट सनराइज’ के हो?
क्वाण्टासको आधिकारिक विज्ञप्ति अनुसार, ‘प्रोजेक्ट सनराइज’ नाम दोस्रो विश्वयुद्धको समयमा क्यारियरको ऐतिहासिक ‘डबल सनराइज’ सहनशीलता उडानहरूलाई सम्मान गर्न राखिएको हो । ती उडानहरू दुईवटा सूर्योदय देख्न पर्याप्त समयसम्म हावामा रहेका थिए ।
क्वाण्टास समूहकी सीईओ भनेसा हडसनले यो प्रगतिले प्रोजेक्ट सनराइजलाई “यथार्थको एक कदम नजिक” ल्याएको बताएकी छन् । उनले थपिन् कि यस परियोजनाले लामो दूरीका रुटहरूको चुनौतीलाई पार गर्नेछ । प्रोजेक्ट सनराइजको व्यावसायिक सेवाहरू २०२७ को पहिलो अर्धभागमा सुरु हुने अपेक्षा गरिएको छ ।
यो विमान २२ घण्टासम्म सिधा उडान गर्न सक्षम रहेको छ, जसको लागि विमानमा २० हजार लिटर क्षमताको थप इन्धन ट्याङ्की जडान गरिएको छ । हालको एक–स्टप सेवाहरूको तुलनामा कुल यात्रा समयमा चार घण्टासम्म कटौती हुनेछ ।
यात्रीहरूलाई थप ठाउँ उपलब्ध गराउन अन्य ए ३५०–१००० मा सामान्यतया हुने ३०० भन्दा बढी सिटको तुलनामा यसमा २३८ सिट कन्फिगरेसन मात्र छ । क्याबिनहरू जेटल्यागसँग लड्न भोजन र प्रकाश डिजाइन जस्ता विशेषताहरू समावेश गर्दै निद्रा वैज्ञानिकहरूको सहयोगमा तयार गरिएको छ ।
प्रिमियम इकोनोमी र इकोनोमी क्याबिनहरू बीच विशेष रूपमा निर्मित ‘वेल्बिइङ जोन’ हुनेछ । यसमा स्ट्रेच गर्ने ह्यान्डलहरू, अन–स्क्रिनमा निर्देशित व्यायाम कार्यक्रमहरू, एक हाइड्रेसन स्टेसन र विभिन्न रिफ्रेसमेन्टहरू उपलब्ध हुनेछन् । यसको पहिलो विमान २०२६ को अन्त्यतिर डेलिभरी हुनेछ ।

