२०८३ असोज ४ , आइतबार 20, September 2026, Sunday

त्रिभुवन विमानस्थलमा उडान र अवतरण पूर्णरूपमा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा खराबी आएपछि शनिबार साँझदेखि हवाई उडान तथा अवतरण पूर्णरूपमा प्रभावित भएसँगै उडान तथा अवतरण बन्द गरिएको छ । हाल आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित छन् ।

अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्डमा राखिएको छ भने आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार रन–वे किनारका लाइटमा समस्या देखिएपछि शनिबार साँझ साढे ५ बजेदेखि विमानस्थलबाट हुने उडान र अवतरण बन्द गरिएको हो ।

विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार, एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिएकाले रातको समयमा विमान अवतरण गर्न सम्भव नभएको हो । यो समस्याका कारण कम्तीमा पाँचवटा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान होल्डमा राखिएका छन् । प्रवक्ता शेर्पाले साँझदेखि नै समस्या सुरु भएको र दुवै प्रकारका उडान तथा अवतरण रोकिएको जानकारी दिए ।

रनवे लाइटिङ प्रणाली रातको समयमा रनवे उज्यालो बनाउन प्रयोग हुने बत्तीहरूको समूह हो, जसमा रनवेको केन्द्र र छेउछाउका बत्तीहरू तथा एप्रोच लाइटहरू समावेश हुन्छन् । यो प्रणाली बिना विमान सुरक्षित अवतरण गर्न कठिन हुने भएकाले उडान सञ्चालनमा बाधा पुगेको हो । विमानस्थल प्रशासनले बिग्रिएको प्रणालीको मर्मत कार्य तीव्ररूपमा भइरहेको जनाएको छ ।

मर्मत पूरा नहुँदासम्म उडान तथा अवतरण सुचारु हुन नसक्ने विमानस्थलले स्पष्ट पारेको छ । समस्या समाधानको प्रयास भइरहेको र समाधान भएलगत्तै नियमित उडान शुरु हुने प्रवक्ता शेर्पाले जानकारी दिए । यात्रुहरूलाई वैकल्पिक व्यवस्था वा अद्यावधिक जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गर्दै विमानस्थल प्रशासनले यात्रुहरूलाई अपडेटका लागि सतर्क रहन भनेको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार