२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

प्रदेशसभा बैठकमै माओवादी सांसदले आफैँलाई दले कालोमोसो

सत्यपाटीसत्यपाटी । जनकपुरधाम । २०८२ कात्तिक २२ गते शनिबार

मधेस प्रदेश सभाको बैठक चलिरहेकै समयमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहबर अन्सारी आफ्नै अनुहारमा कालोमोसो दलेका छन् । मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा उनले प्रदेशसभामा रहेका कुनै पनि सदस्यहरूसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै विश्वासको मत नदिने घोषणासहित आफ्नो अनुहारमा कालोमोसो दलेका हुन् ।

प्रदेशसभा सदस्य अन्सारीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै सदस्यहरूले जनताको मर्मअनुसार काम गर्न नसकेकाले प्रदेशलाई निकास दिन नसकेको धारणा राखे । उनले भने, ‘आज हामी सबैले गल्ती स्वीकार गर्ने समय आएको छ, अहिलेका हामीमध्ये कोहीसँग सरकारको नेतृत्व गर्ने अधिकार छैन ।’ अन्सारीले बोले लगत्तै माओवादी केन्द्रकै प्रदेशसभा सदस्य माला कर्णले पनि विश्वास मत नदिने घोषणा गरिन् ।

उनले प्रदेश सरकारको पनि निर्णय केन्द्रले नै नियन्त्रण गरिरहेकाले आफू केन्द्रको निर्णय अनुसार अगाडी बढ्न नसक्ने बताइन् । बैठकमा बोल्दै सांसद अन्सारी र कर्णले मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत नदिने स्पष्ट पारे । उनीहरूले पार्टीको निर्णयविपरीत यो कदम चाले पनि कारबाही भोग्न तयार रहेको बताए । ‘अहिलेको सरकारलाई विश्वासको मत दिँदैनौं, पार्टीले हामीलाई सजाय दिए पनि हामी भोग्न तयार छौं,’ उनीहरूले सदनमा भने ।

रोस्टमबाट बोल्दै उनले मधेश प्रदेशसभामा रहेको सम्पूर्ण सांसदहरुलाई अपराधीको संज्ञा दिएका छन् । उनले आठ वर्ष भइसक्दा पनि मधेश प्रदेशका ६४ लाख जनताको अवस्थाबारे के छ भनेर प्रश्न गरेका थिए । उनले सरकारमा भएका बेतिथिहरुका बारेमा प्रदेशसभा लगायत आफ्नै पार्टीलाई पनि अवगत गराउँदा कतै कुनै सुनवाई नभएको आरोप लगाए । उनले आफ्नो पार्टीले अब आफूलाई जे गरे पनि आफूले कसैलाई विश्वासको मत दिने बताए ।

सांसद अन्सारीले मधेश प्रदेशको कुनै सांसदसँग मधेशका समस्याहरुको निकाश दिने नैतिक आधार नरहेको बताए । सांसद अन्सारी नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । उनले मुख्यमन्त्री जितेन्द्र सोनलको सरकार यहाँको सांसदले नबनाएर केन्द्रका आदेशमा बनाइएको आरोप लगाए । विरोधको क्रममा सभामुख रामचन्द्र मण्डलले माइक काट्न खोज्दा सांसद अन्सारीले एक्कासी आफैंलाई कालो मोसो दलेका थिए ।

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार